युनिकोड    राशिफल       TashiTelevision                     

पौष २७ गते पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय एकता दिवस मनाउने गठबन्धन सरकारको योजनाको विरोध गर्दै नेपाल आदिवासी जनजाति महासंघले प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र बुझाएको छ । सोमबार पत्रकार सम्मेलन गरी विरोध जनाएको महासंघले प्रम प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, महासचिव दिवश राई, पूर्व महासचिव आङ काजी शेर्पा लगायतले सो ज्ञापन पत्र बुझाएको हो।

‘पुस २७ गते पृथ्वीजयन्तीको रूपमा राष्ट्रिय एकता दिवस मनाउने र सो दिन सरकारले सार्वजनिक बिदा दिने निर्णयप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ अध्यक्ष गेल्जे लामा शेर्पा द्धारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, ‘मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइसकेर पनि राजा महाराजाको जन्म दिनलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउन खोज्नु भनेको राजतन्त्रकै भक्तिगान गाउनु हो भन्ने हाम्रो ठहर रहेको छ ।’

सरकारको निर्णयले ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेस विद्रोह र आदिवासी जनजाति आन्दोलनबाट प्राप्त उपलब्धिहरू गणतन्त्र, संघीयता, धर्मनिरपेक्षण र समानुपातिक/समावेशी व्यवस्था माथि चुनौती थपिएको महासंघको विज्ञप्तिमा उल्लेख छ । ‘अतः पुस २७ गते पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने र उक्त दिन सरकारी बिदा दिने जस्ता निर्णय नेपाल सरकारबाट नगरियोस् भनी सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष हार्दिक अनुरोध गर्दछु,’ महासंघका अध्यक्ष शेर्पाले भनेका छन्, ‘अन्यथा नेपाल आदिवासी जनजाति महासंघ यसको घोर प्रतिरोधमा उत्रन बाध्य हुने ब्यहोरा समेत हार्दिक जानकारी गराउँदछु ।’

सरकाले भने राष्ट्रिय एकता दिवसको नभई पृथ्वी जयन्तीको विदा दिएको जनाइएको छ।

गृह मन्त्रालयले पृथ्वी जयन्ती (पुस २७ गते) को दिन सार्वजनिक विदा दिने निर्णय भएको औपचारिक जानकारी गराएको छ ।

मन्त्रालयले आज सूचना जारी गरी पुस २७ गते देशभर र विदेशस्थित राजदूतावास तथा कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएको हो ।

सरकारको यो निर्णयमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पनि विरोध जनाएका छन् । यो निर्णय जनआन्दोलनको मर्म र भावना विपरीत भएको र यसबाट विविधतामा एकता नभई एकतामा विभेद उत्पन्न गर्ने यादवको दावी छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर