युनिकोड    राशिफल       TashiTelevision                     

प्रज्ञापारमितासूत्र भगवान् बुद्धद्वारा उपदिष्ट सबैभन्दा उत्कृष्ट महायान वाङमय हो। भगवान् बुद्धले चौरासी हजार धर्मस्कन्ध आफ्नो जीवनकालमा सुनाएर जानुभयो। ती चौरासी हजार धर्मस्कन्धहरू मानव जीवनमा आइपर्ने दुःख, कष्ट, शोक, क्षोभ, परिदेव र दौर्मनस्य अर्थात् मानसिक पीडालाई कम गर्ने अचुक औषधिको रूपमा देशना गरेका थिए। मानव शरीरमा चौरासी हजार प्रकारका क्लेश उत्पन्न हुने तन्तुहरू सक्रिय हुन्छन् भन्ने धार्मिक मान्यता रहेको छ।

तसर्थ ती सबै क्लेश अर्थात् राग, द्वेष, मोह मात्र मात्सर्य आदि पञ्चविष उत्पन्न हुने तन्तुहरूलाई शमन गर्न वा रोग निवारणार्थ प्रतिपक्षको रूपमा प्रयोग हुने भएकाले नै भगवान् बुद्धले चौरासी हजार धर्मको उपदेश दिनुभएको हो। यस चौरासी हजार धर्मस्कन्धमध्ये भगवान् बुद्धले दोस्रो धर्मचक्र प्रवर्तन स्वरूप राजगीरिको गृध्रकूट पर्वतमा गम्भीर शून्यता दर्शनमा आधारित प्रज्ञापारमिता सूत्र देशना गर्नुभएको थियो।

प्रज्ञापारमितासूत्र मूलतः तीन खण्डमा सङ्ग्रहित रहेको छ। जसमध्ये विपुल प्रज्ञापारमिता स्वरूप शतसाहस्रिका प्रज्ञापारमिता १२ ठेली, मध्यम प्रज्ञापारमिता स्वरूप पञ्चविंशतिसाहस्रिका प्रज्ञापारमिता ३ ठेली र परित्त प्रज्ञापारमिता स्वरूप अष्टसाहस्रिका प्रज्ञापारमिता १ ठेली गरी जम्मा १६ ठेलीमा सङ्ग्रहित रहेका छन्। जसलाई हिमाली भोट भाषामा ‘युम ग्येडिङ् दुइसुम्’ भनिन्छ। जसमा बुम् १२ ठेली, ञिठी ३ ठेली र ग्येतोङ्पा १ ठेलीमा सङ्ग्रहित रहेका छन्। हालै बुद्धवचन अनुवाद समिति नेपालले १६ ठेली पूर्ण प्रज्ञापारमिताको सफलतापूर्वक देवनगरी लिपिमा अनुवाद गरिसकेको छ।

यसका साथै सबै प्रज्ञापारमिताको गाम्भीरयता र महत्व उतिकै रहेता पनि हाल बुद्धवचन अनुवाद समितिले एक घर एक प्रज्ञापारमिता वा एक घर एक ग्यातोङ्पा भन्ने शुद्ध आशयका साथ यस अभियानलाई अगाडि बढाइरहेको छ। किनकि ग्यातोङ्पा अर्थात् अष्टसाहस्रिका प्रज्ञापारमिता १ ठेली मात्र हुने भएकोले पनि सर्वसाधारणले खरिद गरी घर, कोठा र पूजा स्थानमा राखी पाठ गर्न सजिलो हुन्छ।

विशेष गरी हिमाली भेगमा बसोवास गर्ने शेर्पा लगायत अन्य जातिका बौद्ध धर्मावलम्बिहरूले यस प्रज्ञापारमितालाई कम्तिमा पनि वर्षको एक पटक वा दुई पटक वाचन गर्ने गर्दछन्। प्रज्ञा भन्नाले ज्ञानलाई बुझ्नुपर्छ भने पारमिता भन्नाले भगवान् बुद्धद्वारा उपदिष्ट शून्यताको दर्शनलाई सही रूपले पालन गरी वा अभ्यास गरिएको खण्डमा कुनै पनि व्यक्ति वा साधक यस भव दुःखबाट पार गरेर परम सुखमा प्रतिष्ठित हुने निर्वाण नगरीसम्म पुर्‍याउने भएकोले यसलाई पारमिता भनिएको हो।

प्रज्ञापारमिताको महिमा यति छ कि यसको वर्णन जति गरे पनि कमै हुन्छ । किनकि जोकोही साधकले पनि अन्तमा शून्यताको ज्ञान अर्थात् प्रज्ञापारमिताको ज्ञान बोध नगरी सिद्ध महासिद्ध बन्न सकिंदैन। यो धुव्र सत्य हो।

यस्तो वचन अथवा बुद्धवचन जसले क्लेशावरणहरूलाई वज्रसमान खड्गले छेदन गर्दछ र पारगामिनी, पारंगत भवसागर पार गराई निर्वाण नगरीसम्म लैजाने प्रज्ञालाई उत्पन्न गर्दछ भने त्यसलाई प्रज्ञापारमिता भनिन्छ। यहाँ भन्नुपर्दा षड्पारमिताहरूमध्येबाट प्रज्ञापारमिता अन्तिम अथवा छैटौं पारमिता हो।

प्रज्ञापारमिता नै ज्ञानको पराकाष्टा बोधिदात्री अत्यन्त निगूढ सूक्ष्म तथा अतर्कावचर हो। यसलाई शून्यता, धर्मता, धर्मधातु, तथता, भूतकोटि, धर्मकाय तथा परमार्थ आदिको साक्षात्कारिणी वा प्रापिकाको रूपमा जानिन्छ। प्रज्ञापारमिताको व्याख्या वज्र समान दृढ, आकारको रूपमा गरिन्छ। जसमा वज्र जस्तै दुई छेउ मोटो एवं मध्य भाग पातलो हुन्छ। त्यसैगरी प्रज्ञापारमिताको आदि एवं अन्तमा क्रमशः अधिमुत्ति चर्या भूमि तथा तथागत बुद्धभूमिको विस्तार र मध्य भागमा शुद्धाध्याशायिक भूमिको संक्षिप्त रूप हो भनी मान्नुपर्दछ।

प्रज्ञापारमितासूत्र भगवान् बुद्धको सबैभन्दा उत्कृष्ट, गम्भीर र परमार्थ सत्यज्ञानयुक्त उपदेशहरूको सङ्ग्रह हुन्। महायान बौद्धधर्मको सबैजसो प्रमुख सिद्धान्त, अवधारणा र शिक्षाहरू यस ग्रन्थमा समाविष्ट छन्। यस ग्रन्थको मूल विषयवस्तु ‘शून्यता दर्शन’सँग सम्बन्धित छ। प्रज्ञापारमिता ज्ञानको पूर्णता हो। साथै आध्यात्मिक साधनाको परम सिद्धि पनि हो। सबै बुद्धहरूकी जननी वा माताको रूपमा प्रज्ञापारमितालाई बुझ्ने गरिन्छ।

भगवान् बुद्धले बोधगयामा बुद्धत्त्व प्राप्त गर्नुभएपछि जगतका सम्पूर्ण प्राणीहरूको हित र कल्याणार्थ दिनुभएको ८४ हजार धर्मस्कन्धरूपी उपदेशहरूमध्ये प्रज्ञापारमितासूत्र ‘दोस्रो धर्मचत्र प्रवर्तन’सँग सम्बन्धित छ। यस अन्तर्गत भगवान् बुद्धले सर्वधर्म शून्यता, स्वलक्षण शून्यता वा निःस्वभावताको उपदेश दिनुभएको थियो। आध्यात्मिक ज्ञानको क्षेत्रमा भगवान् बुद्धले दिनु भएको सबैभन्दा महत्त्वपूर्ण योगदान भनेको यही प्रज्ञापारमिताको गम्भीर र अद्वितीय उपदेश हो। विद्वानहरू बीच यो ‘माध्यमिक, निःस्वभावतावाद’ आदि नामले पनि प्रसिद्ध छ।

भगवान् बुद्धले आफ्नो जीवनकालमा करिब ४५ वर्षसम्म विभिन्न स्थानहरूमा आफूले प्राप्त गरेको ज्ञान उपदेश मार्फत् फैल्याउँदै जानु भयो। उहाँले ८४ हजार धर्मस्कन्धहरू सुनाउनुको मूल तात्पर्य भन्नु नै मानव जीवनमा अर्थात् मानव शरीरमा ८४ हजार प्रकारका त्यस्ता तन्तुहरू हुन्छन् जसबाट जन्मेदेखि मृत्यु नहुन्जेलसम्म निरन्तर क्लेश अर्थात् दोष उत्पन्न गरिरहन्छन्।

जसको कारणले गर्दा प्रत्येक मानव तीन प्रकारका दुःख, चार प्रकारका दुःख र आठ प्रकारका दुःखहरूले ग्रसित भईरहन्छन्। तीन प्रकारका दुःख के हुन् भन्दा दुःख दुःखता, विपरिणाम दुःख तथा संस्कार दुःख हुन्। दुःख दुःखता भन्नाले आफ्नो आँखाले देख्न सक्ने कुनै पनि चोटपटक, घाउ र मनमा आइपर्ने पिरचिन्ता वा सजिलै महशुस गर्न सक्ने दुःखकष्टलाई बुझ्नुपर्छ।

दोस्रो प्रकारको विपरिणाम दुःख भन्नाले सुरु सुरुमा सुख जस्तो लागे तापनि समयको अन्तराल पश्चात् दुःखमा परिणत हुँदै गएको अनुभूतिलाई विपरिणाम दुःख भनिन्छ। जस्तै उदाहरणको लागि छुराको धारमा लागेको मह चाट्नाले सुरु सुरुमा सुखद् वेदना प्रदान गरे तापनि मह चाटिसकेपछि जिब्रो छिया छिया पारेकोले असह्य पीडा हुन थाल्दछ भने त्यस्तो दुःखद् अनुभूतिलाई वा त्यसप्रकारको परिवर्तनलाई नै विपरिणाम दुःख भन्दछ। कुनै पनि खाद्यवस्तु वा पेयपदार्थ मीठो वा स्वादिलो रहेछ भनी आवश्यकभन्दा ज्यादा सेवन गर्दा सुरुमा सुखद् अनुभूति भए तापनि पछि स्वास्थ्यमा समस्या परेपछि पीडाको अनुभूति हुनु पनि विपरिणाम दुःख अन्तर्गत नै पर्दछ।

त्यसैगरी तेस्रो प्रकारको संस्कार दुःख भन्नाले हामी जस्ता सर्वसाधारणले सहजै बुझ्न सक्दैनौ। यसलाई बुझ्नको लागि कम्तिमा पनि कुनै न कुनै प्रकारको ज्ञान बोध भएको ऋषि वा साधक हुनुपर्दछ। यदि हामीले यसबारे सरल रूपमा बुझ्ने प्रयास स्वरूप उदाहरण दिनुपर्दा एउटा परेला उखालेर हाम्रो हत्केलामा राख्दा हामीलाई कुनै पनि प्रकारको अनुभूति हुँदैन। जस्तै न त त्यो गह्रौं हुन्छ, न त त्यो हलुका हुन्छ, न त त्यसले बिजाउँछ, न त त्यसले सुखद् वेदना उत्पन्न गर्दछ। तसर्थ हामीले त्यसको अर्थात् संस्कार दुःखको स्वभावलाई बुझ्न सक्दैनौ। तर पनि त्यही परेलालाई आँखा भित्र राखिदिने हो भने त्यसले आँखा बिजाउने र राम्रो हेर्न नसक्ने मात्र नभई आँशु बगेर आँखामा असह्य पीडा उत्पन्न हुन् थाल्दछ। त्यसै अनुरूप ऋषिमुनि र सिद्ध महासिद्धहरूले संस्कार दुःखलाई गहिरो वा तीब्र वेदनाको रूपमा लिन्छन्। जबदेखि मानव भ्रुण आमाको कोखभित्र अस्तित्वको रूपमा रहन्छ, तबदेखि नै संस्कार दुःख उत्पन्न हुन थाल्दछ।

यो हाम्रो वायु मण्डलमा जताततै सास फेर्नको लागि हावा व्याप्त भएजस्तै संस्कार दुःख पनि कलल वा अर्बुद वा पेशी वा भ्रुणको अवस्थादेखि नै संस्कार दुःख उसको शरीर भरि व्याप्त हुन्छ। यसरी व्याप्त हुने भएकाले नै यस दुःख अंग्रेजीमा (Suffering of Pervasive) भनिएको छ। त्यसैगरी चार प्रकारको दुःख भन्नाले जन्म, जरा, व्याधि र मृत्युको दुःख हुन्। त्यसरी नै आठको प्रकारका दुःख भन्नाले हामी मानव भएपछि सधैं भईरहने दुःखहरू हुन् । जस्तै— पाउँदा सुख, नपाउँदा दुःख, प्रशंसा गर्दा खुसी हुने, निन्दा गर्दा दुःखी हुने, मन परेको मान्छेसँग भेट्दा खुसी हुने, मन नपरेको मान्छेसँग भेट्दा दुःखी हुने, उच्च कुलमा जन्मदा वा धनी भएर जन्मदा खुसी हुने, निम्त कुलमा वा दरिद्र हुँदा दुःखी हुने जस्ता दुःखहरूलाई आठ प्रकारका दुःख भनिन्छ।

तसर्थ भगवान् बुद्धले मानवमा उत्पन्न भईरहने चौरासी हजार प्रकारका क्लेशहरू मुख्यतया राग, द्वेष, मोह, मद् र मात्सर्य यी पाँच क्लेशहरूलाई पञ्च विष भनेर नामाकरण गरिएको छ। यी पाँच विषहरू उत्पन्न भएमा हाम्रो मनुष्य जीवन नारकीय बन्दछ। जसबाट सुखको कुनै पनि सम्भावनाहरू रहँदैन। यी पाँच प्रमुख क्लेशहरू रहे तापनि अन्य उपक्लेशहरू भने चौरासी हजार प्रकारका हुने भएकाले नै भगवान् बुद्धले प्रत्येक क्लेशको शोधनार्थ धर्मचक्र प्रतर्वन गर्नुभएको हो।

जसरी सिटामोल टाउको दुखाईको प्रतिपक्ष हो भने त्यसरी नै चौरासी हजार धर्मस्कन्ध मानव शरीरबाट उत्पनन हुने चौरासी हजार प्रकारको क्लेशको प्रतिपक्ष हो भनी बुझ्नुपर्छ। यसरी उपदेश दिने क्रममा भगवान् बुद्धले तीन पटकसम्म यस जम्बुद्वीपमा धर्मदेशना गर्नुभएको थियो। जस अन्तर्गत प्रथम धर्मदेशनामा चार आर्यसत्य। जस्तै— दुःखसत्य, समुदयसत्य, निरोधसत्य र मार्गसत्यको बारेमा भने दोस्रो धर्मचक्र प्रवर्तन भारत वर्षको हाल विहार स्थित ग्रृधकूट पर्वतमा प्रज्ञापारमिताबारे धर्मदेशना गर्नुभयो। जुन धर्मदेशना सबैभन्दा गम्भीर र गहन विषय शून्यताको बारेमा बताउनु भएको थियो। तेस्रो धर्मचक्र प्रवर्तन भन्नाले सुविभङ्ग वा सुविभक्त धर्मचत्र प्रवर्तन गर्नुभएको थिय। जसमा तथागतगर्भको बारेमा बताउनु भएको थियो। सबै जीवजन्तुहरूमा सुगतगर्भ अर्थात् Buddha Nature निहित हुन्छ। तर पनि हामीले त्यसलाई चिन्दैनौ। किनभने त्यसलाई चिन्ने अथवा बुझ्ने ज्ञानलाई क्लेशावरण र ज्ञेयावरणको कालो बादलले ढाकिरहेको हुन्छ।

तसर्थ जबसम्म हामीले क्लेशावरण र ज्ञेयावरणलाई हटाउँदैनौ तबसम्म क्लेशको जालोभित्र जगडिएको यो सुगतगर्भ अथवा परमार्थ ज्ञान बाहिर प्रकट हुन पाउँदैन। यसरी ज्ञान बाहिर प्रकट हुन नसकेपछि क्लेशको वशमा परेर मानिसले पाप माथि अर्को पापकर्महरू थपिदै जान्छ र दुर्गतिको भागिदार बन्दछन्।

यसरी तीन धर्मचक्र प्रवर्तनमध्ये दोस्रो धर्मचक्र प्रवर्तन शून्यतादर्शनसँग सम्बन्धित रहेको छ। शून्यताको गम्भीर दर्शनमा आधारित भएको हुनाले हामी जस्ता सर्वसाधारणले प्रज्ञापारमिताको अर्थ सजिलै बुझ्न सक्दैनौ। कारण किन त भन्दा प्रज्ञापारमिता अर्थात् शून्यता बोध हुने बित्तिकै बुद्ध बन्ने भएकाले अब यहाँ हामीले के बुझ्नु जरुरी छ भन्दा बुद्ध बन्न त्यति सहज छैन। यद्यपि असम्भव पनि होइन। उदाहरण महायोगी मिलारेपालाई लिन सक्नुहुन्छ। जसले एकै जुनीमा बुद्धत्त्व प्राप्त गरे।

यसै जुनीमा कठोरभन्दा कठोर त्याग र तपस्या गर्न सकियो भने, जप, तप र ध्यान गर्न सकियो भने सही र सटिक रूपमा साधना गर्न सकियो भने मात्र एकै जुनीमा हामीले पनि बुद्धत्त्व प्राप्त गर्न सक्छौं। सिद्धार्थ कुमार गौतमलाई हेर्ने हो भने पनि उहाँले तुरुन्त बुद्धत्त्व प्राप्त गरेको कुनै पनि ग्रन्थमा उल्लेख छैन। बुद्धत्त्व प्राप्त गर्नको लागि उहाँले सुरुमा चित्तोत्पाद, मध्यमा तीन असंख्य कल्पसम्म धर्मकर्म अर्थात् पुण्यसम्भार पूरा गरे। अन्तमा उहाँले भारत वर्षको बोधगयामा जानु भई ६ वर्षको कठोर तपस्यापछि मात्र प्रज्ञापारमिताको ज्ञान बोध भई बुद्धत्त्व प्राप्त गरे।

यसबाट के बुझ्नुपर्छ भन्दा प्रज्ञापारमितालाई बुझ्न त्यति सजिलो छैन। किनभने यो गम्भीरभन्दा अति गम्भीर ज्ञान निहित रहेकाले पनि यसलाई सहज रूपले बुझ्न कठिन हुन्छ। पञ्चविंशतिसाहस्रिका प्रज्ञापारमितासूत्रमा यस्तो उल्लेख गरिएको छ— “तीनै कालमा रहेका बुद्धहरू अर्थात् अतीतका बुद्ध, प्रत्युत्पन्नका बुद्ध र अनागतका बुद्धहरूले पनि यही प्रज्ञापारमिताको ज्ञानलाई बोध गरी बुद्ध भए, बुद्ध हुनेछन् र बुद्ध भइरहेका छन्” भनी उल्लेख गरिएको छ। यसबाट पनि के बुझ्नुपर्छ त भन्दा जबसम्म प्रज्ञापारमिताको ज्ञान बोध हुँदैन तबसम्म बुद्धत्त्व लाभ गर्नु भनेको ठाडो खोलामा बालुवाको पुल अडिनु जस्तै हो।

प्रज्ञापारमिता पाठ गर्नाले मात्र पनि तीन दुर्गतिमा पतन हुनु पर्दैन भनी उल्लेख गरिएको छ। तीन दुर्गति भन्नाले पुशलोक, प्रेतलोक र नरक लोकमा जन्मिनु पर्दैन।

प्रज्ञापारमिता सुन्नाले मात्र पनि कल्पौं कल्पसम्म सञ्चित गरिएको पापहरू शोधन भएर जानेछ। प्रज्ञापारमितालाई स्पर्श मात्र गर्नाले पनि शरीरद्वारा गरिएको पाप जस्तै— हत्याहिंसा, काट्मार, काममिथ्याचार र अदत्तादान अर्थात् चोरी गरेर साँचेको पाप समेत शोधन भएर जान्छ भनिएको छ। प्रज्ञापारमिताको दर्शन मात्र गर्नाले पनि यो जुनीमा सुख, शान्ति र समृद्धि त हुन्छ नै अर्को जुनीमा पनि बुद्ध तथा बोधिसत्त्वहरू दर्शन गर्ने सौभाग्य प्राप्त हुन्छ भनी उल्लेख गरिएको छ। प्रज्ञापारमितालाई अक्षरमा उतार्ने वा लिपिबद्ध गरी पूजा गर्नाले त्यस कुलपुत्र वा कुलपुत्रीले कुनै पनि प्रकारका विघ्नबाधाहरूको सामना गर्नुपर्ने छैन।

यति मात्र नभई ती कुलपुत्र वा कुलपुत्रीले गङ्गानदीको किनारमा थुप्रिएको बालुवाको कणलाई हामीले गन्न सकिएला तर प्रज्ञापारमितासूत्रलाई अक्षरमा उतार्ने वा लिपिबद्ध गरी पूजा गर्नाले त्यसबाट प्राप्त हुने पुण्य ती बालुवाको कणभन्दा दोबर हुन्छ भनी वज्रच्छेदिक प्रज्ञापारमितामा समेत उल्लेख गरिएको छ।

प्रज्ञापारमिताको पूजा गर्नाले, यसलाई सेवा–सत्कार गर्नाले, गौरव गर्नाले र यसको पूजन गर्नाले यति पुण्य प्राप्त हुन्छ कि जसको परिमाण त्रिकाल बुद्धहरूले समेत बताउन कठिन हुन्छ भनी उल्लेख गरिए अनुसार यो प्रज्ञापारमिता कति गहन छ, कति गम्भीर छ र कति कल्याणकारी छ भन्ने कुरा सहजै अनुमान लगाउन सक्छौं।

अन्त्यमा प्रज्ञापारमितासूत्रलाई सकेमा पाठ गरौं, नसके श्रवण गरौं, दर्शन गरौं, चिन्तन गरौं र पर्यावाप्त गरौं। यसरी हामी मनुष्य भएर जन्मेपछि मृत्युसत्यलाई चाहेर वा नचाहेर पनि वरण गर्नु पर्ने नै हुन्छ।

जन्मनु भनेको मर्नु हो। भेट्नु भनेको छुटिनु हो। सञ्चित गर्नु भनेको नै क्षय हुनु हो। तसर्थ यो नाशवान अथवा अनित्य दुई दिनको मानव चोलालाई अर्थपूर्ण बनाउने हो भने यो गम्भीर, मोक्ष प्रदायक, कल्याणकारी, हितकारी, ज्ञानसागर, संकट मोचन, दुःखकष्ट भञ्जक तथा मोक्ष दात्री प्रज्ञापारमिताको श्रवण, चिन्तन र भावनालाई महत्त्व दिनु नै पर्दछ।

यदि यसो गर्न सकियो भने मात्र हामी मानव भएर जन्मिएको अर्थ सिद्ध हुन्छ। त्यति मात्र नभएर आफ्नो धर्मकर्म, भेषभूषा, परम्परा र संस्कृतिको संरक्षण गरिएको ठहरिने छ।

।। भवतु सर्वमङ्गलम् ।।

लेखक टीका शेर्पा बुद्धवचन अनुवाद समिति नेपालका अध्यक्ष हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर