पर्यटन व्यवसायी चेङा छिरिङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा गुरु रिन्पोछे अर्थात गुरु पद्मसम्भवको प्रतिमा पुर्याएका छन्। विश्व शान्ति र मानवताको लागि सगरमाथा आरोहण भन्ने नाराका साथ व्यवसायी शेर्पाले सगरमाथाको शिखरमा १२ इन्चको तामाको प्रतिमा पुर्याएको हो।
सगरमाथा आरोहणको ७० बर्षे इतिहासमा पहिलो पटक आरोही शेर्पाले गुरु रिन्पोछेको प्रतिमा शिखरमा पुर्याएको हो। दोश्रो बुद्धको रुप गुरु रिन्पोछेको प्रतिमा लिएर आरोही शेर्पा १७ मे २०२३ मा नेपाली समय अनुसार बिहान ४ बजेर २१ मिनेटमा सगरमाथाको शिखरमा पुगेका थिए।
विश्व शान्ति र मानवताको लागि सगरमाथा आरोहण अभियानमा विभिन्न प्रकारको सहयोग गर्ने सहयोगी दाताहरु र सगरमाथा आरोहण अभियानमा भाग लिने २ जना विदेशी लाटभियन नागरिकलाई पर्वतारोही शेर्पाले भाद्र २ गते काठामाण्डौमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ।
‘Mt. Everest Expedition For World Peace And Humanity campaign – 2023 AWARD Program’ को आयोजना गरी ६५ जना व्यक्तिहरुलाई सो सम्मान गरेको हो।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पर्वतारोही शेर्पाले आफूले कुनै पनि महत्वपूर्ण कार्यको थालनी गर्दा सम्झिने गरेको गुरु रिन्पोछेको प्रतिमालाई विश्व शान्तिको कामना गर्दै सर्वोच्च शिखरमा लगेको बताए।
सगरमाथाको शिखरमा गुरु रिन्पोछेको प्रतिमा पुर्यायो भने वर्तमान विश्वमा भईरहेको महामारी र अशान्तिको समस्या बाट मुक्ति मिल्ने आरोही शेर्पाको कथन रहेको छ।
सगरमाथाको शिखरमा गुरु रिन्पोछेको प्रतिमा स्थापना गर्ने उद्देश्यका साथ पुगे पनि प्राविधिक कारणले सफल हुननसकेको आरोही चेङा छिरिङ शेर्पाले बताए। आरोही शेर्पाको नेतृत्वमा रहेको आरोहण दलले सगरमाथाको शिखरमा ६ घण्टा भन्दा बढी समय बिताएका थिए।

आरोही चेङा छिरिङ शेर्पाले २०७९ असार ३० गते सगरमाथाको शिखरमा गुरु रिन्पोछेको १२ इन्चको तामाको मूर्ति स्थापना गर्नको लागि खुम्बु पासाङ ल्हामु गाँउपालिका बाट अनुमति लिएका थिए।
सम्मान कार्यक्रममा पूर्व मन्त्री कृपासुर शेर्पा, जेष्ठ कम्युनिष्ट अगुवा तथा मास्टर आङ दामी शेर्पा, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका अध्यक्ष भवानी प्रसाद खरेल लगायतले मन्तव्य राखेका थिए।
सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व पर्यटन मन्त्री कृपासुर शेर्पाले असम्भव केही छैन भन्ने कुराको उदाहरण गुरु रिन्पोछेको मूर्ति सगरमाथामा पुर्याएर चेङा छिरिङ शेर्पाले देखाएको भन्दै बधाई तथा शुभकामना व्यक्त गरे।
राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका अध्यक्ष भवानी प्रसाद खरेलले चेङा छिरिङ शेर्पालाई हार्दिक बधाई ज्ञापन गर्दै निरन्तर सफलताको लागि शुभकामना दिए।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सञ्चालक परिषदकी सदस्य लन्जम शेर्पाले आरोही चेङा छिरिङ शेर्पाको कार्यले आफू गौरवान्वित भएको बताइन्।
६ बर्ष गुम्बा शिक्षा समेत अध्यन गरेका अभियन्ता तथा सगरमाथा आरोही चेङा छिरिङ शेर्पाले सर्वोच्च शिखर सगरमाथामा गुरु रिन्पोछेको प्रतिमा पुर्याएर विश्वलाई महत्वपूर्ण सन्देश दिएका छन्।
आरोही चेङा छिरिङ शेर्पाको अभियानले नेपालको पर्यटन प्रवर्द्धन हुने, सर्वोच्च शिखरलाई नै गुरु रिन्पोछे अर्थात गुरु पद्मसम्भवको प्रतीकको रुपमा सबैले पूजा गर्ने र त्यस क्षेत्रमा फोहोर नगर्ने विश्वास लिइएको छ।
रोग, व्याधि, अनिकाल, झैझगडा, कलह, प्राकृतिक प्रकोप आदि शान्त हुने, आरोहीहरुको आत्मविश्वास बढ्ने दृढ विश्वासका साथ आचार्य पद्मसम्भवको पवित्र तीर्थस्थलहरुको प्रचार प्रसार भई देशमा धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने हेतुले आरोही शेर्पाले विश्व शान्ति र मानवताको लागि सगरमाथा आरोहण अभियान सञ्चालन गरेको हो।
High Mountain Himalaya Treks & Expedition Pvt. Ltd. का सञ्चालक समेत रहेका पर्वतारोही चेङा छिरिङ शेर्पाको जन्म विक्रम सम्वत २०३८ साल कात्तिक ४ गते सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाँउपालिका-८ स्थित ओखरेनीमा भएको हो।


















































