विवादस्पद राजनीतिज्ञ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक बन्दसूचीबाट हटाएकी टासी ल्हाजोमलाई हुम्लाबाट प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ।
फागुन २१ गते हुने निर्वाचनका लागि टासीले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएकी हुन्। समानुपातिक सूचीबाट नाम हटाएपछि टासीलाई प्रत्यक्ष उम्मेदवार बनाउन माग गर्दै रास्वपाको हुम्ला जिल्ला कमिटीले धर्नासमेत दिएको थियो।
जिल्ला पार्टीको दबाबपछि उम्मेदवारी दर्ताको अन्तिम दिन मात्रै टासीले टिकट पाएकी हुन्। जलवायु अभियन्ताका रूपमा परिचित टासी यसअघि मन्त्री बन्ने चर्चामा समेत रहेकी थिइन्।
पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र चुनावी प्रक्रियाबाट समानुपातिक बन्दसूचीमा समेटिएकी टासीलाई पछि रास्वपाले सूचीबाट हटाएको थियो। सो निर्णयपछि पार्टी नेतृत्वको आलोचना हुँदै आएको थियो।
