युवा व्यवसायी पेमा दोर्जी शेर्पाले नेपाल शेर्पा विद्यार्थी संघको आसन्न राष्ट्रिय महाधिवेशनका लागि महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
संघको राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा केन्द्रीय महासचिव पदका उम्मेदवार शेर्पाले संगठन सुदृढीकरण, समावेशी नेतृत्व र जवाफदेहितालाई आफ्नो मुख्य एजेन्डा बनाउँदै चुनावी अभियानलाई तीव्र पारेका छन्।
महाधिवेशन अन्तर्गत आयोजित विभिन्न जिल्ला अधिवशेन कार्यक्रम तथा भेटघाटलाई सम्बोधन गर्दै उम्मेदवार शेर्पाले संघलाई संस्थागत रूपमा मजबुत बनाउँदै संघीय, प्रदेश र जिल्लास्तर बीच प्रभावकारी समन्वय कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले भाषा, संस्कृति र पहिचानको संरक्षणलाई शेर्पा विद्यार्थी आन्दोलनको मूल आधारका रूपमा अघि बढाइने बताएका छन्।
उनका अनुसार संगठन विस्तारसँगै विद्यार्थीहरूको हक–हित, शैक्षिक समस्या र पहिचानका सवाललाई प्राथमिकतामा राखेर काम गरिनेछ। “नेतृत्वको रोजाइ मतदाताको मर्जीमा हुनुपर्छ,” भन्दै उनले Election, Not Selection को नारालाई जोड दिएका छन्।
राष्ट्रिय महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन हुने प्रक्रियालाई लोकतान्त्रिक, पारदर्शी र सहभागितामूलक बनाउनुपर्नेमा जोड दिँदै उम्मेदवार शेर्पाले सक्रिय र जवाफदेही महासचिवको भूमिकामा आफू प्रस्तुत हुने दाबी गरेका छन्।
नेपाल शेर्पा विद्यार्थी संघको क्याम्पस इकाई अध्यक्ष हुंदै संघको केन्द्रीय सदस्यको भूमिका सफलतापूर्वक निर्वाह गरिसकेका युवा व्यवसायी शेर्पा वर्तमान केन्द्रीय सचिव समेत हुन्।

