शेर्पा संघ अमेरिकाले पत्रकार लक्की शेर्पालाई नगद पुरस्कार सहित शेर्पा पत्रकारिता पुरस्कार बाट सम्मान गरेको छ।
विश्व शेर्पा दिवसको अवसरमा आइतबार काठमाण्डौमा आयोजित कार्यक्रममा पत्रकार शेर्पालाई २५ हजार १ रुपैयाँ नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको हो।
विगत १० बर्ष देखि नेपाली आमसञ्चार क्षेत्रमा सक्रिय सञ्चारकर्मी लक्की शेर्पा सम्मानित भएकी हुन्।
तेह्रथुमको छथर गाँउपालिका सुदापकी लक्की शेर्पा रेडियो तेह्रथुम, धनकुटा एफएम, अरनिको टेलिभिजन, सगरमाथा टेलिभिजन, न्यूज नेपाल टेलिभिजन र विभिन्न अनलाईन मिडियाहरुमा काम गरेकी अनुभवी सञ्चारकर्मीको रुपमा परिचित छिन्।

नेपालमा शेर्पा पत्रकारहरुलाई हौसला प्रदान गर्न तथा व्यवसायिक पत्रकारिताको विकासको लागि प्रत्येक वर्ष एक जना स्वतन्त्र शेर्पा पत्रकारलाई छनौट गरी नगद तथा सम्मान पत्र सहितको शेर्पा पत्रकारिता पुरस्कार प्रदान गर्ने क्रममा सञ्चारकर्मी शेर्पालाई सम्मान गरेको शेर्पा संघ अमेरिकाले जनाइएको छ।


