युनिकोड    राशिफल       TashiTelevision                     

नेपाल प्रहरीकी प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा पासाङ ल्हामु शेर्पा साहसी महिला पर्वतारोही पुरस्कार बाट सम्मानित भएकी छन्। प्रहरी नायव निरीक्षक शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रहरी हुन्।

५२औं नेपाल पर्वतारोहण संघ (एनएमए) दिवसको अवसरमा आज शनिबार काठमाण्डौको नक्साल स्थित एनएमए सचिवालयमा आयोजित कार्यक्रममा प्रहरी नायव निरीक्षक शेर्पा सम्मानित भएकी हुन्।

कार्यक्रममा डाउन फेदरको पोसाक प्रयोग नगरी विश्वका ८ हजार मिटर भन्दा माथिका १४ वटा शिखरहरुको आरोहण गरी इतिहास रचेका मिङमा तेन्जी शेर्पालाई कुमार खड्ग विक्रम शाह एडभेन्चर अवार्ड प्रदान गरिएको छ।

त्यस्तै विश्वको दोस्रो अग्लो पर्वत केटू ६ पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने सिद्दी बहादुर तामाङलाई डा. हर्क गुरुङ पर्वतारोहण पुरस्कार प्रदान गरिएको छ।

सबै पुरस्कार प्राप्तकर्ताहरूलाई सुन जडित पदक प्रदान गरिएको नेपाल पर्वतारोहण संघले जनाइएको छ।

पत्रकार सुरज कुँवर र पवन फुयाललाई ‘दावा नोर्वु माउन्टेन जर्नालिज्म अवार्ड’ प्रदान गरिएको छ। दुबै जनाले २० हजार रुपैयाँको दरले नगद पुरस्कार प्राप्त गरेका छन्।

त्यस्तै एनएमएकी लेखा सहायक प्रमिला सिग्देललाई आ.व. २०८१/०८२ का उत्कृष्ट कर्मचारीको रूपमा नगद १० हजार रुपैयाँ सहित सम्मान गरिएको छ।

एनएमएले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा कीर्तिमानी आरोही, हिमाल पर्यटनसँग सम्बन्धित संस्था, पत्रकार र आफ्ना कर्मचारीलाई सम्मान गर्दै आएको छ।

पुरस्कार वितरण अघि पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रमलाई सम्वोधन गर्दै महानिर्देशक लामिछानेले एनएमएको योगदानको प्रशंसा गर्दै यसलाई कानुनी रूपमा सरकारी निकायको दर्जा दिनुपर्ने सुझाव दिए।

नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष फुर गेल्जे शेर्पाले संघको ३५औँ साधारण सभाले पारित गरेका योजनाहरूबारे जानकारी दिएका थिए।

पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेको प्रमुख आतिथ्यता तथा एनएमएका अध्यक्ष फुर गेल्जे शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी अधिकारी, पूर्व तथा वर्तमान कार्यसमिति सदस्यहरू, पर्यटन व्यवसायी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर