प्रथम सफल सगरमाथा आरोहण दलका एक मात्र जीवित सदस्य कान्छा शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
सोमबार बिहान काठमाण्डौको टेकु दोभानमा राष्ट्रिय सम्मानका साथ शेर्पाको अन्त्येष्टि गरिएको हो।
ऊर्जा मन्त्री कुलमान घिसिङ र पर्यटन सचिव हरिप्रसाद मैनालीले शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

सशस्त्र प्रहरीको नम्बर १८ गण कीर्तिपुरबाट खटिएको १० जनाको १ सेक्सन टोलीले शेर्पाको सम्मानमा शोक सलामी अर्पण गरेको थियो।
अन्त्येष्टि समारोहमा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पा, नेपाल पर्यटन बोर्डका सीईओ दिपकराज जोशी, लगायतका पर्यटन व्यवसायी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ मा सगरमाथाको पहिलो सफल आरोहण गर्दा कान्छा शेर्पा २१ वर्षका थिए। उक्त ऐतिहासिक आरोहण दलमा १६ जना बेलायती र ३५ जना नेपाली शेर्पा सहभागी थिए।
अन्त्येष्टिमा कान्छाका दुई छोरा लाक्पा तेन्जिङ र छिरिङ पेन्जो शेर्पा सहित परिवारजन उपस्थित थिए।
गत बिहीबार बिहान २ बजेर १० मिनेटमा ९३ वर्षको उमेरमा काठमाडौंको कपनस्थित निवासमा कान्छा शेर्पाको निधन भएको थियो। कान्छा शेर्पाको योगदान विश्व पर्वतारोहण इतिहासमा सधैं स्मरणीय रहनेछ ।






