युनिकोड    राशिफल       TashiTelevision                     

संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई विश्व शेर्पा संघले ज्ञापनपत्र बुझाएको छ।

संघले प्रधानमन्त्री ओलीलाई मंगलबार न्यूयोर्कमा भेट गरी नेपालको हिमाली क्षेत्रका समस्या र शेर्पा समुदायको हितका विषयमा महत्वपूर्ण ४ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा सोलुखुम्बु जिल्लामा पर्ने थामे गाउँको प्राचीन शेर्पा बस्तीमा हिमताल फुटेर क्षतिग्रस्त घरहरूको पुनर्निर्माणको माग गरिएको छ। गाउँको भौगोलिक विकटताका कारण पुनर्निर्माण कार्य अत्यधिक महँगो हुने भएकाले नेपाल सरकारले पूर्ण क्षतिग्रस्त घरहरूको पुनर्निर्माण गर्न विशेष सहयोग गर्नुपर्ने संघको माग रहेको छ।

ज्ञापनपत्रमा पर्वतारोहण पेशामा संलग्न शेर्पाको न्यूनतम जीवन बीमा रकम १५ लाखलाई बढाएर ३० लाख रुपैयाँ पुर्‍याउनु पर्ने माग गरिएको छ। त्यस्तै पर्वतारोहण क्षेत्रमा दुर्घटनामा परेका आरोही शेर्पा परिवारका बालबालिकाको शिक्षादीक्षा र रोजगारीको व्यवस्था गर्न तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमा शेर्पा समुदायको योगदानको कदर गर्दै उनीहरूको भविष्य सरकारले सुनिश्चित गर्नुपर्ने माग राखिएका छन्।

संघले समग्र पर्यटन क्षेत्रको विकासमा योगदान पुर्‍याएका नेपालका बौद्ध धर्मका धार्मिक स्थल, स्तूपा र गुम्बाहरूको अतिक्रमण रोक्न र संरक्षण तथा पुनर्निर्माणको माग गरेको छ।

संघले नेपालका शेर्पा गाउँहरूमा स्थानीय भाषामा अध्ययन अध्यापनको नीति भएता पनि त्यसको कार्यान्वयन नभएकाले प्राथमिक तहमा शेर्पा भाषाको अध्ययन अध्यापनको व्यवस्था गर्न तथा गराउन माग गरेको छ ।

विश्व शेर्पा संघका वरिष्ठ उपाध्यक्ष निमा शेर्पा, महासचिव आङ जाङबु शेर्पा, शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी शेर्पा ‘एपी लामा’, शेर्पा किदुग न्यूयोर्क अमेरिकाका अध्यक्ष ई. तेम्बा शेर्पा र शेर्पा संघ अमेरिकाका सचिव पेम्बा गिर्मे लामा शेर्पा द्वारा हस्ताक्षरित ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई बुझाएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर