नेपाल शेर्पा विद्यार्थी संघले आयोजना गरेको निशुल्क सिली/सिलु नृत्य प्रशिक्षण तालिम सम्पन्न भएको छ । संघले यही जेठ २२, २३ र २४ गते काठमाण्डौमा आयोजना गरेको सिली नृत्य प्रशिक्षण तालिम सम्पन्न भएको हो ।
सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिका १ घिप्चे निवासी फुर्पा दोर्जे शेर्पा द्धारा तालिम दिई तीन दिने उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो । शेर्पा समुदायको मौलिक सिली नृत्य जगेर्ना गर्ने मुख्य उदेश्यका साथ नेपाल शेर्पा विद्यार्थी संघले सो कार्यक्रमको आयोजना गरिएको हो ।
शनिबार काठमाण्डौको जोरपाटीमा नेपाल शेर्पा विद्यार्थी संघ केन्द्रीय कार्यसमिति द्धारा आयोजित समापन समारोहमा सिली नृत्य प्रशिक्षणको तालिम प्राप्त गरेकाहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । ५ जना व्यक्तिहरुले सो प्रमाणपत्र प्राप्त गरेको हो ।
शेर्पाहरुको विवाह उत्सवमा नाचिने नाँच सिली अर्थात सिलु हो । यस अन्तर्गत तरबार, झ्याम्टा, चौरीको पुच्छर र दातार बोक्दै नाच्ने गरिन्छ । तरबारले रोग व्याधि र विघ्नबाधा हटाउने विश्वास गरिन्छ । पुच्छरले नकारात्मक शक्तिलाई पन्साउन प्रयोग गरिन्छ । त्यस्तै झ्याम्टाले नृत्यको गत्ति, चाल र तालमेल मिलाउन प्रयोग गरिन्छ ।
दातारले दुलही संगै दश दिशाका सह, श्री, सम्पत्ति र राम्रा चिजलाई आकर्षित गरी आफू तिर तान्ने सामाजिक विश्वास रहेको पाइन्छ । पछिल्लो दिनहरुमा विभिन्न उत्सव र औपचारिक कार्यक्रमहरुमा पाहुनालाई स्वागत गर्नका सिलु नृत्य देखाइन्छ ।
कार्यक्रममा पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, हिमालय शेर्पा सांस्कृतिक केन्द्रका निवर्तमान अध्यक्ष तथा नेपाल भारत मैत्री बस सेवा सञ्चालन गर्ने स्वयम्भू मञ्जुश्री यातायात प्रा. लि. का अध्यक्ष छिरिङ शेर्पा, मिस मंगोल नेपाल पासाङ डोल्मा शेर्पा, शेर्पा चलचित्र संघ नेपालका अध्यक्ष छोङबा शेर्पा, शेर्पा रेष्ट्रो एण्ड क्याफेका सञ्चालक आङ छिरिङ शेर्पा र Denny’s Educational Consultancyका निर्देशक डेनी शेर्पा लगायतको उपस्थिति रहेको थियो ।
