युनिकोड    राशिफल       TashiTelevision                     

संयुक्त राज्य अमेरिकाले न्यूयोर्कको सडकको नाम ‘तेन्जिङ नोर्गे शेर्पा वे’ राखेको छ ।  सोमबार अन्तराष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथा आरोहणको ७० औं बर्षगाँठ ‘प्लाटिनम जुबिली’को अवसर पारेर विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहण गर्ने तेन्जिङ नोर्गे शेर्पाको नाम बाट उक्त सडकको नामकरण गरिएको हो ।

तेन्जिङ नोर्गे शेर्पा वे नामकरण भएको सडक न्यूयोर्कको ज्याक्सनहाइट स्थित सेभेन्टी फाइभको ब्रोड वे देखि उडसाइड सम्मको बाटो रहेको छ ।

शेर्पा किदुगको गुम्बा अगाडी रहेको उक्त सडकको नाम शेर्पा किदुग अमेरिकाको पहलमा न्यूयोर्क सिटी राज्यले तेन्जिङ नोर्गे शेर्पा वे राखिएको हो । सो क्षेत्रमा बसोबास गर्ने शेर्पाहरुको संख्या करिब ११ हजार रहेको अनुमान गरिन्छ ।

तेन्जिङ नोर्गे शेर्पा मार्गको सडक चिन्ह अनावरण गर्न मे २९ मा विशेष समारोहको आयोजना गरिएको थियो । शेर्पा किदुग, शेर्पा संघ अमेरिका र यूएस नेपाल क्लाइम्बर्स एशोसियसनले संयुक्त रुपमा आयोजना गरेको उक्त विशेष समारोहमा ठूलो संख्यामा नेपाली समुदायको उपस्थिति रहेको थियो ।

कार्यक्रममा न्यूयोर्क सिटी काउन्सिलका सदस्य शेखर कृष्णनले तेन्जिङ नोर्गे शेर्पा वेको सहनामकरणलाई गौरवको क्षण भएको भन्दै नेपाली समुदायको प्रशंसा गरेका थिए ।

दायाँ बाट क्रमश शेर्पा किदुगका अध्यक्ष ई. तेम्बा शेर्पा, शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी शेर्पा ‘एपी लामा’ र स्टेट एसेम्बली मेम्बर क्याटालिना क्रुज 

न्यूयोर्क सिटी डिस्ट्रिक्ट २५ का परिषद सदस्य शेखर कृष्णनले उद्घाटन गरेको तेन्जिङ नोर्गे शेर्पा मार्गको सडक चिन्ह अनावरण कार्यक्रममा स्टेट सिनेटर मिसेल गाइनरिस, स्टेट एसेम्बली मेम्बर क्याटालिना क्रुज, स्टेट एसेम्बली मेम्बर जेसिका गोन्जालेस र काउन्सिल मेम्बर जुलि वोन लगायतले सम्बोधन गरेका थिए ।  सम्वोधनका क्रममा वक्ताहरुले न्यूयोर्कको बाटोको नाम शाहसी आरोही तेन्जिङ नोर्गे शेर्पाको नाममा नामकरण गर्न पाउँदा खुसी लागेको बताए ।

दायाँ बाट क्रमश चलचित्र निर्माता तथा कलाकार फरादेण्डी लामा शेर्पा र शेर्पा संघ अमेरिकाका आजीवन सदस्य लाक्पा सांगे लामा शेर्पा ‘तेन्जिङ नोर्गे शेर्पा वे’मा

सो क्रममा न्यूयोर्क स्थित नेपाली कन्सुलेटका कार्यवाहक महाबाणिज्यदूत विष्णु प्रसाद गौतम,  तेन्जिङ नोर्गे शेर्पाका छोरा नुर्बु तेन्जिङ शेर्पा, शेर्पा किदुगका अध्यक्ष ई. तेम्बा शेर्पा, यूएस नेपाल क्लाइम्बर्स एशोसिएसनका अध्यक्ष पासाङ निमा शेर्पा, शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी शेर्पा ‘एपी लामा’ले बाटोको नामकरण प्रति न्यूयोर्क सिटीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

यसअघि न्यूयोर्क सिटी काउन्सिलले नेपाली समुदायको सम्मानमा सडकको नाम ‘तेन्जिङ नोर्गे शेर्पा वे’ राख्ने विधेयक पारित गरेको थियो ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सफल आरोहण भएको ७० वर्ष पुगेको छ । सन् १९५३ मे २९ तारिखका दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको शिखरमा आफ्नो पाइला राखेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर