हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको अन्तराष्ट्रिय शाखा बेल्जियमको अध्यक्षमा लामा लाक्पा शेर्पा निर्वाचित भएका छन् । बेल्जियमको लुवेनमा आइतबार सम्पन्न केन्द्रको प्रथम अधिवेशन मार्फत लामा लाक्पा शेर्पाको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा काजी शेर्पा, महिला उपाध्यक्षमा आङ दिकी शेर्पा, महासचिवमा याङडी शेर्पा, सहसचिवमा दावा लामा शेर्पा, कोषाध्यक्षमा साम्देन शेर्पा र सहकोषाध्यक्षमा उषा टी शेर्पा रहेका छन् ।
महिला सदस्यहरुमा पवित्र लामा शेर्पा र छिरिङ शेर्पा रहेका छन् । त्यस्तै निमा शेर्पा र काल्देन शेर्पा पनि सदस्यको रुपमा रहेका छन् । हिमालय शेर्पा सांस्कृतिक केन्द्रको अन्तराष्ट्रिय शाखा बेल्जियमले प्रथम अधिवेशन मार्फत लाक्पा ग्याल्जेन शेर्पा ‘एलजी’ लाई सल्लाहाकार चयन गरिएको छ ।
कार्यसमितिका सबै सदस्यहरु सर्वसम्मत निर्वाचित भएको हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको अन्तराष्ट्रिय शाखा बेल्जियमले जनाइएको छ ।
संस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्ष लामा देण्डी शेर्पाले टाशी टेलिभिजन संग कुरा गर्दै नयाँ कार्यसमितिमा बेल्जियममा जायजन्म भई हुर्केर १८ वर्ष पुगेका दुई जना युवालाई समेटिएको बताए । निवर्तमान अध्यक्ष शेर्पाका अनुसार बेल्जियममा जायजन्म भएका दावा शेर्पा सहसचिव र काल्देन शेर्पा सदस्यको रुपमा समेटिएको हो ।
प्रथम अधिवेशनको अवसरमा हिमालय शेर्पा सांस्कृतिक केन्द्रको अन्तराष्ट्रिय शाखा बेल्जियमले शेर्पा नृत्य स्याब्रु लगायत विभिन्न नेपाली नृत्य सिकेका आफ्ना १३ जना विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेको छ ।
सो अवसरमा सम्भोटा भाषा र स्याब्रु नृत्य सिकाउनको लागि हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको अन्तराष्ट्रिय शाखा बेल्जियमलाई निशुल्क स्थान उपलब्ध गराउने लगायत अन्य महत्वपूर्ण साथ र सहयोग गरेकी व्यवसायी आङ छिरिङ शेर्पा पनि सम्मानित भएकी छन् ।
निवर्तमान अध्यक्ष देण्डी लामा शेर्पा नेतृत्वमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको अन्तराष्ट्रिय शाखा बेल्जियमले नेपालमा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपका पीडितहरु, आर्थिक अवस्था कम्जोर भई उपचार गर्न कठिनाई भएकाहरु र कोभिड महामारीको चपेटामा परेर पिल्सिएका जनतालाई आर्थिक सहयोग गरेको थियो ।
कोभिड महामारीको दोश्रो लहरको चपेटामा परेर खानेकुराको अभाव भएकाहरुलाई काठमाण्डौ उपत्यकामा खाद्य सामाग्री वितरण गरेको केन्द्रले सिन्धुपाल्चोक जिल्लाका भोटेकोशी गाँउपालिका, बाह्रबीसे नगरपालिकामा पहिरो पीडितहरुलाई हिमालयन शेर्पा सांस्कृतिक केन्द मार्फत राहत वितरण गरेका थिए ।
हिमाली भाषा, कला, संस्कृति, प्रथा, परम्परा, रीतिरिवाजको संरक्षण र विकासको उत्कट अभिलासा बोकेर गठन भएको संस्था हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको अन्तराष्ट्रिय शाखा बेल्जियमको परोपकारी कार्यमा बढ्दो क्रियाशिलताले आहतमा परेका कैयन दुखी पीडितहरुले राहत महसुस गरिसकेका छन् । आहतमा परेका जनतालाई पटक-पटक राहत वितरण गरेको संस्थाले आफ्ना गतिविधिलाई पछिल्लो दिनमा थप बढाउदै लगेको छ ।
विभिन्न अवसरको खोजीमा बेल्जियममा पुगेका शेर्पाहरुलाई सम्भोटा भाषा, स्याब्रु नृत्य लगायत भाषा, धर्म, कला, संस्कृति सिकाउने, अन्तर्कृया गर्ने गराउने, लोसार जस्ता महान चाँडपर्वहरुको आयोजना गर्ने लगायतका कार्यक्रमहरु केन्द्रले सफलतापूर्वक र प्रभावकारी रुपले आयोजना गर्दै आएको छ ।
अधिवेशनमा शेर्पा किदुग बेल्जियमका अध्यक्ष पेम्बा दोर्जी शेर्पा, निवर्तमान अध्यक्ष सोनाम दोर्जी शेर्पा र युरोप शेर्पा संघका पूर्व अध्यक्ष फुला लामा शेर्पा लगायतको उपस्थिति रहेको थियो ।
