युनिकोड    राशिफल       TashiTelevision                     
 नपाली कांग्रेसका सांसद  पूर्ण बहादुर तामाङ ‘कान्छाराम’लाई बधाई दिँदै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा

नेपाल आदिवासी जनजाति महासंघले संघीय ससंदका नवनिर्वाचित आदिवासी सांसदहरुलाई सम्मान गरेको छ । राष्ट्रिय सभा र प्रतिनिधिसभाका ८४ जना नव निर्वाचित सांसदहरुको सम्मानमा शनिबार काठमाण्डौको चाबहिल स्थित एक पार्टी प्यालेसमा महासंघले बधाई शुभकामना तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

सम्मान तथा रात्रीभोज कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र नेकपा एकीकृत समाजवादीका आदिवासी सांसदहरुको सहभागिता रहेको थियो ।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिप छिरिङ लामा शेर्पा, संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ, आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापामगर, विनाविभागीय मन्त्री राजेन्द्र कुमार राई लगायतको उपस्थिति रहेको थियो ।

सम्मान तथा रात्रीभोज कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले महासंघको अवधारणा प्रस्तुत गरेका छन् ।

सो क्रममा महासंघ अध्यक्ष शेर्पाले आदिवासी जनजाति आन्दोलन सफल बनाउन सडक र सदन दुवैको प्रयोग गर्नु पर्ने बताएका छन् ।

अध्यक्ष शेर्पाका अनुसार आदिवासी जनजाति आन्दोलनको आधारभूत मुद्धाहरु जातीय पहिचान सहितको प्रादेशिक संरचना, आत्मनिर्णयको अधिकार सहित जातीय स्वशासन र स्वायत्तता, समावेशी समानुपातिक प्रतिनिधित्व, त्यस्तै भाषा, संस्कृति, भेषभुषालाई राष्ट्रिय मान्यता दिनु पर्ने र परापूर्वकाल देखि चलिआएको आदिवासी प्रथालाई कानूनी मान्यता दिनुपर्ने लगायत छन् ।

कार्यक्रमा संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका सांसद सुवास चन्द्र नेम्वाङले देशलाई समावेशी बनाउन कसैले रोक्न नसक्ने आधार नेपालको संविधानले दिएको बताएका छन् ।

नेपाल समावेशी देश भएकाले संविधानको नामकरण त्यसै अनुरुप नेपालको संविधान भएको सांसद नेम्वाङले बताए ।

नेकपा माओवादी केन्द्रका सांसद सूर्यमान दोङ तामाङले आदिवासी जनजातिको पहिचानको मुद्धा स्थापित गर्न र समुदायको आर्थिक जीवनमा परिवर्तन ल्याउन र त्यसलाई नेतृत्व दिन अझै असामान्य चुनौति रहेको बताउँदै विचार तथा राजनीतिक दृष्टिकोण अलग भए पनि जातीय उत्पीडनको अन्यका निम्ति आदिवासी सांसदहरुले नयाँ आन्दोलनको नेतृत्व दिनु पर्ने कुरामा जोड दिए ।

सांसद तामाङले संघीयताको विरोधमा षडयन्त्र कायम रहेको बताँउदै परिवर्तन विरोधी शक्तिहरुलाई राजनैतिक, वैचारिक, भाषिक र सांस्कृतिक हिसाबले प्रतिवाद गर्नुपर्ने बताए ।

नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले रेशम चौधरीको सवालमा आदिवासी जनजाति महासंघले सशक्त रुपमा मुद्धा उठाउनु पर्ने बताए। सांसद लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका पिता हुन्।

पूर्व मन्त्री तथा नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण कुमार श्रेष्ठ ‘किसान’ले आफ्नो राजनीतिक पार्टी भन्दा माथी उठेर सांसदहरुले आदिवासी जनजातिको जायज मागहरु उठाउन पर्ने बताएका छन् ।

त्यस्तै सांसद श्रेष्ठले संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङलाई राष्ट्रपतिमा नियुक्त गर्नु पर्ने धारण राखे ।

नेपाली कांग्रेसकी सांसद सीता गुरुङले आदिवासी जनजाति आन्दोलन कहाँ पुगेको छ भन्ने कुराको मुल्याङ्कन गर्नु पर्ने बताइन् ।

आदिवासी जनजातिहरुलाई मुलुकले नचिनेको हुदाँ संस्कार, संस्कृति लोप भइरहेको बताउँदै सांसद गुरुङले अबको आन्दोलन भनेको पहिचानको लडाई रहेको बताइन् ।

विनविभागीय मन्त्री राजेन्द्र कुमार राईले आदिवासी जनजातिहरुको आम्दानी कसरी बढाउने र गरिबी कसरी घटाउने भन्ने कुरा महत्वपूर्ण रहेको बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर