नेपाल शेर्पा विद्यार्थी संघको अध्यक्ष पदमा निमा साङ्गे शेर्पाले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
वर्तमान उपाध्यक्षसमेत रहेका शेर्पाले संघको आसन्न १५औँ राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
उम्मेदवारी घोषणा गर्दै शेर्पाले हालका अध्यक्ष फुर्वा छिरिङ शेर्पाको नेतृत्वमा संघले हासिल गरेको उपलब्धि र गतिलाई निरन्तरता दिँदै समयअनुकूल, विद्यार्थी་केन्द्रित तथा समुदायमुखी संगठन निर्माण गर्ने प्रतिबद्धता सार्वजनिक गरेका छन्।
निमा साङ्गे शेर्पा लामो समयदेखि नेपाल शेर्पा विद्यार्थी संघमा सक्रिय रहँदै आएका छन्। केन्द्रीय सदस्य, सचिवालय सदस्य हुँदै हाल उपाध्यक्षको भूमिका निर्वाह गर्दै आएका उनले संघलाई सुदृढ र प्रभावकारी बनाउन निरन्तर योगदान पुर्याउँदै आएको बताइएको छ।
शेर्पा विद्यार्थीहरूको हकहित, अवसर, पहिचान र उज्ज्वल भविष्य सुनिश्चित गर्ने उद्देश्यले आफू अध्यक्ष पदमा उम्मेदवार बनेको उनको भनाइ छ।
“मेरो उम्मेदवारी केवल पदका लागि होइन, सम्पूर्ण शेर्पा विद्यार्थी, समुदाय र राष्ट्रको हितका लागि हो,” उनले बताएका छन्।
व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संघलाई बलियो, प्रभावकारी र गौरवशाली संगठनका रूपमा अघि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
नेपालभर छरिएर रहेका शेर्पा विद्यार्थीहरूको साझा छाता संगठनका रूपमा रहेको नेपाल शेर्पा विद्यार्थी संघलाई थप सशक्त बनाउने लक्ष्यसहित निमा साङ्गे शेर्पाले सम्पूर्ण शेर्पा विद्यार्थीहरूबाट साथ, समर्थन र विश्वासको अपेक्षा गरेका छन्।
नेपाल शेर्पा विद्यार्थी संघको १५औँ राष्ट्रिय महाधिवेशन यही माघ ३ गते काठमाडौंमा सम्पन्न हुने कार्यतालिका रहेको छ।
