युनिकोड    राशिफल       TashiTelevision                     

चलचित्र निर्माता तथा कलाकार फरादेण्डी लामा शेर्पाले विभिन्न ६ वटा गुम्बालाई ज्याङछुव स्तूपा प्रदान गरेको छ । भोजपुर जिल्लाका ५ वटा र संखुवासभा जिल्लाका एउटा गुम्बालाई सो स्तूपा प्रदान गरेको हो ।  संयुक्त राज्य अमेरिका न्यूयोर्क निवासी शेर्पाले जेठ १३ गते काठमाण्डौको बौद्धमा रहेको आफ्नो घरमा प्राणप्रतिष्ठान कार्यक्रम आयोजना गरी सो स्तूपाहरु प्रदान गरिएको हो ।

स्तूपा प्राप्त गर्ने गुम्बाहरुमा भोजपुर जिल्लाको साविकको दोभाने गाविस हालको परिवर्तित साल्पासिलिछो गाँउपालिका स्थित विरौटेका पेमा छ्योलिङ गुम्बा, जौबारीका  छोचेन गुम्बा, बक्सिन्दाका देछेन छोलिङ गुम्बा, साविकको खाटाम्मा गाविस हालको परिवर्तित साल्पासिलिछो गाँउपालिका सिगानेका  साङ छोलिङ गुम्बा र दुवारीका  टाशी छोलिङ गुम्बा रहेका छन् ।

त्यस्तै संखुवासभा जिल्लाको खाँदबारी नगरपालिकामा अवस्थित छ्योसालिङ गुम्बा रहेका छन् । यस अघि भोजपुर जिल्लाको भोजपुर नगरपालिका ९ स्थित पानीट्याङ्कीको पेमा छोलिङ गुम्बा परिसरमा  २४ फिट अग्लो ज्याङछुव स्तूपा निर्माण गरेका फरा देण्डी लामा शेर्पाले आफ्ना धार्मिक क्षेत्रमा सहयोग जारी राख्ने क्रममा गुम्बा भित्र राख्ने महत्वपूर्ण स्तूपाहरु प्रदान गरेको हो । बक्सिन्दाका देछेन छोलिङ गुम्बा अवतारी लामा खेन्पो ङवाङ थार्चिन लामा हुन् । टुल्कु ङवाङ साम्ते शेर्पा टाशी छोलिङ गुम्बाका अवतारी लामा हुन् ।

आध्यात्मिक मन भएका मनकारी फरा देण्डी लामा शेर्पाले सागादावाको अवसरमा विभिन्न गुम्बा र संस्थालाई सहयोग गरेका छन् । सागादावा महिनामा जुनसुकै पुण्य कार्य  गर्दा बुम अर्थात लाखमा परिणत हुन्छ भन्ने विश्वासका साथ  उनले फर्पिङमा त्रिवोधि विपश्यना ध्यान केन्द्र निर्माण गर्न श्रद्धा दानको रुपमा आर्थिक सहयोग गरेका छन् । कलाकार शेर्पाले सोलुखुम्बु जिल्लाको महाकुलुङ गाँउपालिका ३ बोक्सुवार छेस्काममा रहेको श्री ङग्युर ञ्यादोन स्यादडुपलिङ गुम्बामा हातले घुमाउने माणे अर्थात मणिचक्र निर्माणका लागि श्रद्धा दानको रुपमा आर्थिक सहयोग गरेका छन् ।

त्यस्तै बुद्धवचन अनुवाद समिति नेपाल द्धारा नेपाली भाषामा अनुवाद भइरहेको प्रज्ञापारमिताको परियोजनालाई पनि आर्थिक सहयोग गरेका छन् । कलाकार शेर्पाले बुद्धवचन अनुवाद  समिति नेपालले अनुवाद गरिरहेको १६ ठेली प्रज्ञापारमिता अध्यनका लागि बुकिङ गरेका छन् ।

संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका ३ मा अवस्थित छ्योसालिङ गुम्बाका अध्यक्ष छिरिङ शेर्पा र सोलुखुम्बु जिल्लाको महाकुलुङ गाँउपालिका ३ बोक्सुवार छेस्काममा रहेको श्री ङग्युर ञ्यादोन स्यादडुपलिङ गुम्बाका महासचिव सोनाम खम्बाचे शेर्पाले दाता फरा देण्डी लामा शेर्पालाई गुम्बाको लागि महत्वपूर्ण सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरेका छन् ।

आध्यात्मिक तथा धार्मिक विषयमा रुची राख्ने र बौद्ध धर्म प्रति आस्था राख्ने फरा देण्डी लामा शेर्पाले काठमाण्डौको बौद्धमा रहेको आफ्नो घरमा विभिन्न बुद्ध मूर्ति तथा स्तूपाहरु र बौद्ध धर्मको महत्वपूर्ण ग्रन्थहरु राखिएका छन् । शेर्पाको घरमा कान्ग्यूर र प्रज्ञापारमिता राखिएका छन् । नेपाल देखि बेलायत र संयुक्त राज्य अमेरीका सम्म विभिन्न सामाजिक गतिविधिहरुमा सक्रिय फरा देण्डी लामा शेर्पाको निवासका भित्ताहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान र अवार्डहरुले भरिएका छन् ।

कलाकार फरा देण्डी लामा शेर्पा

 घरमा प्रज्ञापारमिता राख्दा र यस्को पाठ गर्दाको फाइदा

प्रज्ञापारमिता घरमा राख्दा शुख, शान्ति छाउने, भूतप्रेत हट्ने र दुख दिन नसक्ने हुन्‍छ भन्ने धार्मिक तथा सामाजिक विश्वास रहेको छ । बाढी पहिरो, भूकम्प जस्ता विभिन्न प्राकृतिक प्रकोपहरुबाट बच्न सकिन्छ ।

महामारी फैलियो भने प्रज्ञापारमिताको पाठ गरेर शान्त पार्न तथा रोकथाम गर्न सकिन्छ । बालीनाली राम्रो उब्जाउ हुन्छ । बस्तुभाउहरु कम बिरामी तथा कम रोग लाग्ने हुन्छ । मनुष्य तथा अमनुष्यहरु बाट घातक हानी पुर्‍याउन सकिँदैन । यस बाट सकरात्मक उर्जा फैलिने हुदाँ वरिपरीको वातवरण शुद्ध भई परिवारमा मेलमिलाप हुन्छ ।

प्रज्ञापारमिताको पाठ गर्नाले अत्यधिक पुण्य वृद्धि हुन्छ । यस्को पाठ गर्नाले माथिल्लो देव लोकका देवताहरु, तल्लो नाग लोकका नागहरु सबै प्रसन्न भई तृप्त हुन्छ । जस्ले गर्दा हानी कम हुन्छ ।

प्रज्ञापारमितालाई घरमा राख्दा बुद्ध स्वंयम बिराजमान भएको जिन्लाप अर्थात आशिर्वाद प्राप्त भईरहन्छ । प्रज्ञापारमिताको पाठ र यस प्रतिको श्रद्धाले अन्तिममा बुद्धत्व लाभ हुन्छ ।

प्रज्ञापारमिता

हिमाली भोट भाषा तथा मूल संस्कृत ग्रन्थमा लेखिएको भगवान बुद्धका चौरासी हजार धर्मस्कन्धहरु मध्येको अत्यन्त गम्भीर, हितकारी एवं महत्वपूर्ण शून्यता दर्शनमा आधारित प्रज्ञापारमिता बौद्ध धर्मको मुख्य ग्रन्थ त्रिपिटकको १०० ठेली मध्ये १६ ठेली नै प्रज्ञापारमिता हो ।

शाक्यमुनी बुद्धले भारतको राजगृहमा दोश्रो धर्मचक्र प्रवर्तनको अवसरमा दिएको उपदेश नै प्रज्ञापारमिता हो । बुद्ध धर्ममा बुद्ध स्वंयमले तत्कालिन भिक्षुहरुलाई दिएको उपदेशलाई बुद्धवचन भनिन्छ । बुद्ध पछिका बौद्ध विद्धानहरुले बुद्धको उपदेशलाई गरिएको व्याख्यालाई शास्त्र भनिन्छ ।

बुद्धवचन अनुवाद समिति नेपाल द्धारा नेपाली भाषामा अनुवादित प्रज्ञापारमिता

त्यस्तै पछिल्लो चरणमा हिमाली परम्परा अनुसार बौद्ध धर्म गुरुहरुले विभिन्न ध्यान, साधना गरि लेखिएको ग्रन्थलाई सुङबुम भनिन्छ । प्रज्ञापारमिता शुत्र(युम) ८ ‌औ शताब्दीमा तिबत पुगेर संस्कृत भाषा बाट सम्भोटा भाषामा लिपिबद्ध भएको पाईन्छ।

८४ हजार धर्मस्कन्धलाई अभिधर्म पिटक, विनय पिटक र सुत्र पिटक गरि तीन भागमा विभावजन गरिएको पाइन्छ ।  जस्लाई त्रिपिटक भनिन्छ ।  प्रज्ञापारमिता सुत्रपिटक अन्तर्गत पर्दछ । सुत्र पिटकमा बुद्धले शुन्यताको अत्यन्तै गम्भिर शिक्षाको बारेमा बताएका छन् ।

सागादावा

सागादावा महिनालाई भोटका विद्धानहरुले बुमग्युरकी दावा भनि उल्लेख गरिएको पाईन्छ । जस्को अर्थ यो महिना  भरी जुनसुकै पुण्य कर्म  गर्दा पनि बुम अर्थात लाखमा परिणत हुन्छ । तसर्थ यो महिनालाई बुमग्युरकी दावा भनिन्छ । सागा भनेको एउटा नक्षत्रको नाम हो । जुन नक्षत्र उदाँउदा अमृतको वृष्टि हुने र सानो पुण्यको काम पनि ज्‍यामितीय हिसाबमा वृद्धि हुने भएकाले यो महिनालाई हिमाली बौद्ध विद्धानहरुले महत्वका साथ लिइरहेको पाइन्छ ।  सागादावामा चैत्य परिक्रमा गर्ने, ढोग्ने, दियो बत्ति बाल्ने, दिनदुखीलाई दान गर्ने गरिन्छ ।

चलचित्र निर्माता तथा कलाकार फरा देण्डी लामा शेर्पाले संयुक्त राज्य अमेरिकालाई कर्म भूमि बनाई आफ्नो जन्म भूमि नेपालमा विभिन्न धार्मिक गतिविधि मार्फत महत्वपूर्ण योगदान दिएका छन् । मनकारी शेर्पाको पुण्य कार्य प्रशंसनीय छ ।

 

#TashiTelevision #PharadendiLamaSherpa #stupa #Bhojpur #Sankhuwasabha

 

 

प्रतिक्रिया

सम्बन्धित खवर