१६ फाल्गुन, २०७९ | टाशी टेलिभिजन
सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकाले ग्याल्पो लोसारको अवसरमा बृहत साँस्कृतिक तथा शुभकामन आदान-प्रदान कार्यक्रम आयोजना गरेको छ । भोटेकोशी गाँउपालिकाले फाल्गुन १५ र १६ गते बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । पहिलो पटक स्थानीय सरकारले आयोजना गरेको ऐतिहासिक लोसार कार्यक्रममा भोटेकोशी गाँउपालिकाबासीको उल्लेख्य सहभागिता रहेको थियो ।
गाँउपालिकाको खोकुण्डोल स्थित श्रीचौरमा आयोजित दुई दिने कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । गायकहरु सोनाम शेर्पा कहानी, दावा के शेर्पा, रोज मोक्तान, आशमान लोप्चन, प्रदिप लामा, विश्व दोङ, त्यस्तै गायिका अञ्जु थोकरको प्रस्तुति रहेको थियो ।
कार्यक्रममा हिमालयन शेर्पा सांस्कृतिक केन्दको कलाकारहरुले स्याब्रु नृत्य प्रस्तुत गरेका थिए । हास्य कलाकार पासाङ टी शेर्पाको हास्यव्यङग्य प्रस्तुती रहेको थियो । बृहत साँस्कृतिक कार्यक्रममा नेपालको पहिलो डीजेको रुपमा चिरपरिचित डीजे तेन्जङको साथमा डीजे नवाङको डीजे सेशनले रौनकता थपेको थियो ।
सामूहिक रुपमा गरिने ल्हप्सो पूजा बाट सुरु भएको लोसार कार्यक्रममा स्याब्रु नृत्य र सिली नृत्यको प्रतियोगिता भएको थियो । स्याब्रु प्रतियोगितामा मार्मिङ महिला समूह प्रथम, दुगुनागढी एकता महिला समूह द्धितीय र बालहित आमा समूह तृतीय भएका छन् । त्यस्तै सिली नृत्य प्रतियोगितामा पाँचगाँउ शेर्पा किदुक वाड नं १ प्रथम, दुगुनागढी युवा क्लब द्धितीय र भोटेकोशी गाँउपालिका वडा नं ४ ले तृतीय स्थान हासिल गरेका छन् ।
स्याब्रु र सिलीवा नृत्य प्रतियोगिताको निर्णायक मण्डलमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका तर्फ बाट लाक्पा नोर्वु शेर्पाको संयोजकत्वमा रिन्जी शेर्पा र छम्जी रहेका थिए । लाक्पा नोर्वु शेर्पाले मौलिकता र प्रस्तुती, रिन्जी शेर्पाले अनुशासन र समय, त्यस्तै छम्जी शेर्पाले भेषाभुषालाई हेरेर प्रतियोगीहरुलाई दिएको अंकको आधारमा नतिजा घोषणा गरेको हो ।
स्याब्रु नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्न मार्मिङ महिला समूह र सिलीवा नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने पाँचगाँउ शेर्पा किदुक वाड नं १ लाई २५ हजार रुपैयाँको दरले नगद पुरस्कार सहित कदरपत्र प्रदान गरेको छ । प्रतियोगितामा दोश्रो र तेश्रो स्थान हासिल गर्ने प्रतिष्पर्धिहरुलाई पनि कदरपत्र द्धारा सम्मान गरिएको छ ।
कार्यक्रममा मिस मंगोल नेपाल पासाङ डोल्मा शेर्पा लगायतलाई सम्मान गरेको छ ।
कार्यक्रममा भोटेकोशी गाँउपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा, नेपाली कांग्रेसका सांसद तथा पूर्व सञ्चार मन्त्री मोहन बहादुर बस्नेत, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा, प्रदेश सभा सदस्य मसिना खड्का भण्डारी, बाह्रबीसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत र भोटेकोशी गाँउपालिकाकी उपाध्यक्ष दिछेन शेर्पा लगायत स्थानीय जनप्रतिनिधिहरुले सम्बोधन गरेका थिए ।

हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका कलाकारहरुलाई मायाको चिनो हस्तातरण गर्दै भोटेकोशी गाँउपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा
भोटेकोशी गाँउपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले बृहत लोसार कार्यक्रमलाई सम्बोधन गर्दै गाँउपालिकामा कार्यक्रम आयोजना गर्नुको उदेश्य सबै एक ठाँउमा उभिएर लोसारको शुभकामना आदाप्रदान गर्नु भएको बताए । कसैलाई पूर्वाग्रह नराखिकन सबै एक हौ भन्ने उदेश्यले राष्ट्रिय चाँड ग्याल्पो लोसारको कार्यक्रम आयोजना गरिएको अध्यक्ष शेर्पाको भनाई रहेको छ ।
सिन्धुपाल्चोक जिल्लाको १२ स्थानीय तह मध्ये सबै भन्दा पछि परेको भोटेकोशी गाँउपालिकालाई आफ्नो पाँच बर्षे कार्यकालमा पहिलो स्थानमा ल्याउने अध्यक्ष शेर्पाले प्रतिवद्धता व्यक्त गरे । सिन्धुपाल्चोक जिल्लाको पालिकाहरु मध्येमा सबैभन्दा कम बजेट केन्द्र बाट विनियोजन भएको बताउँदै जनसङ्ख्याको आधारमा नभई प्राकृतिक भूगोलको आधारमा बजेट विनियोजन गर्नु पर्ने कुरामा अध्यक्ष शेर्पाले जोड दिए ।
कार्यक्रम अतिथि तथा नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेतले ग्याल्पो लोसारको उपलक्ष्यमा भोटेकोशी गाँउपालिकाले महत्वपूर्ण कार्यक्रम आयोजना गरेर संस्कृति, परम्परा, महान चाँडलाई भव्यताको साथ मनाउन र एकआपसमा खुशी साटासाट गर्न, समृद्धिको शुभकामना व्यक्त गर्न एउटा महान कार्यक्रमको आयोजना गरेको बताँउदै कार्यक्रम आयोजकलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रमका अर्का अतिथि तथा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले लोसारको सबै उत्साहलाई हेर्दा गर्वको अनुभूति भएको बताँउदै सबै लोसारहरुलाई मिलाएर भव्यताका साथ राष्ट्रव्यापी रुपमा मनाउनु पर्नेमा जोड दिए । सो अवसरमा सांसद सापकोटाले आयात निर्यात खुलाउने गरी तातोपानी नाका छिट्टै सुचारु हुन लागेको पनि जानकारी दिए ।
भोटेकोशी गाँउपालिकाकी उपाध्यक्ष दिछेन शेर्पाले गाँउपालिकाले इतिहासमै पहिलो पटक ग्याल्पो लोसार विशेष कार्यक्रमको आयोजना गरेको बताउँदै शेर्पा लगायत आदिवासी जनजातिहरुको कला संस्कृतिलाई जगेर्ना गर्नु पर्नेमा जोड दिइन् ।
पहिलो दिन नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेत र दोश्रो दिन नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाको पमुख आतिथ्यतामा दुई दिने लोसार कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाल शेर्पा संघका उपाध्यक्ष च्येङा शेर्पा ‘साहिल’, समाजसेवी दोर्जे लामा र व्यवसायी जाङबु शेर्पा लगायतको उपस्थिति थियो ।
























#TashiTelevision #Bhotekoshi #GyalpoLosar #Losar #MohanBahadurBasnet #MadhavSapkotaSubodh #PasangNurpuSherpa #DichhenSherpa #PasangDolamaSherpa #MissMangolNepal #ShreeChour #Khokundole #BhotekoshiRuralMunicipality #Tatopani #Sindhupalchok #Sherpa #NewYear
