नेपाल शेर्पा विद्यार्थी संघले शेर्पा भाषाको पुस्तक सार्वजनिक गरेको छ । शनिबार काठमाण्डौको जोरपाटीमा एक कार्यक्रमको आयोजना गरी शेर्पा भाषा सिक्नको लागि ‘Easy Sherpa Language Learning Guide’ पुस्तक सार्वजनिक गरिएको हो । नेपाल बौद्ध महासंघका निवर्तमान अध्यक्ष आचार्य नुर्वु शेर्पा द्धारा विमोचन गरी उक्त पुस्तक सार्वजनिक भएको हो ।
नेपाल शेर्पा विद्यार्थी संघका संस्थापक अध्यक्ष निमा ग्याल्जे शेर्पा द्धारा प्रकाशित सो पुस्तक सिक्किम सरकारको शिक्षा विभागमा कार्यरत रहेकी लेखक निम ल्हमु शेर्पाले लेखेकी हुन् ।
विगत २५ बर्ष देखि अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपाल शेर्पा विद्यार्थी संघका संस्थापक अध्यक्ष निमा ग्याल्जे शेर्पाले कार्यक्रमलाई सम्बोधन गर्दै भाषा तथा पहिचान जोगाउनको लागि यो पुस्तक प्रकाशन गरेको बताए । सो क्रममा प्रकाशक शेर्पाले हाललाई परिक्षणको रुपमा १ हजार १ प्रति प्रकाशन गरेको जानकारी दिएको छ ।
शेर्पा-अंग्रेजी-नेपालीमा लेखिएको ३८ पृष्ठ रहेको उक्त पुस्तकको मूल्य ४ सय १ रुपैयाँ राखिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि आचार्य नुर्वु शेर्पाले देवनागरी र रोमन लिपिमा शेर्पा भाषा शुद्ध उच्चारण गर्न नसकिने जिकिर गर्दै सम्भोटा लिपि सिक्नु पर्नेमा जोड दिए ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष निमी शेर्पाले शेर्पा भाषाको राम्रो ज्ञान भएमा विभिन्न अवसर प्राप्त हुने बताँउदै शेर्पा भाषाको प्रयोगलाई जोड दिइन् ।
कार्यक्रममा नेपाल शेर्पा विद्यार्थी संघले राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष निमी शेर्पालाई प्रंशसा पत्र प्रदान गरी सम्मान गरेको छ ।
नेपाल शेर्पा विद्यार्थी संघकी उपाध्यक्ष फुटी शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष निमी शेर्पा, मिस मंगोल नेपाल पासाङ डोल्मा शेर्पा, नेपाल बौद्ध महासंघका निवर्तमान अध्यक्ष आचार्य नुर्वु शेर्पा, टानका पूर्व महासचिव आङ पेम्बा शेर्पा, शेर्पा भाषाका प्रशिक्षक नुरु छेपाल शेर्पा र शेर्पा इभेन्ट अर्गनाइजरका उपाध्यक्ष आङ पेम्बा शेर्पा लगायतको उपस्थिति रहेको थियो ।
शेर्पा भाषाको पुस्तकको लागि सम्पर्क, छिरिङ शेर्पा – 9823367283
