विश्व शेर्पा संघले शेर्पा भाषाको एप सार्वजनिक गरेको छ । अक्टोवर ८ अर्थात विश्व शेर्पा दिवसको अवसरमा शनिबार काठमाण्डौमा कार्यक्रमको आयोजना गरी संघले उक्त एप सार्वजनिको गरेको हो ।
पहिलो पटक सार्वजनिक भएको सो एप मार्फत शेर्पा भाषा सिक्न सकिने एप निर्माता विश्व शेर्पा संघले जनाइएको छ । हाल आइफोन तथा एप्पलको आईओएस डिभाइसहरुमा डाउनलोड गर्ने सकिने शेर्पा भाषा एप एन्ड्रोइड स्मार्ट फोनका प्रयोगकर्ताहरुले भने केही समय पर्खनु पर्ने भएको छ । हाल केबल ३ हजार २ सय ५५ शब्द, ६ सय ६२ वाक्य र ५ सय १५ तस्वीर समावेश रहेको एपमा क्रमश अरु सामग्रीहरु थपिँदै लाने विश्व शेर्पा संघको तयारी रहेको छ । शेर्पा भाषा एप शेर्पा समुदायको एपको रुपमा विकसित गराउँदै लाने संघको लक्ष्य रहेको छ । एपमा शेर्पा अनुवाद, वाक्यहरु, शेर्पा ब्लग तथा समाचार, शेर्पा सम्बन्धि भिडिओ र शेर्पा शब्दकोश समावेश छन् । सन २०१७ अक्टोवर ८ मा घोषण गरेको शेर्पा भाषा एप परियोजनाको काम कोभिढ महामारीका कारण सन २०२१ जनवरी १७ बाट सुरु भएको हो।
‘Sherpa Language App’ निर्माण समितिका संयोजक तथा विश्व शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा शेर्पाले भाषा लोप हुनु भनेको मानव सभ्यताको लागि ठुलो नोक्सान हुने बताँउदै एप निर्माण एउटा राम्रो सुरुवात भएको बताए। बालबालिकाहरु विद्यालय गएर औपचारिक शिक्षा अध्यन गर्ने क्रममा खस नेपाली र अंग्रेजी भाषाको प्रयोगले शेर्पा भाषा कम्जोर भएको तर्फ संकेत गर्दै उनीहरुलाई आफ्नो भाषा प्रति आकर्षित गराउन शेर्पा भाषामा कार्टुन र भिडियो गेमहरु उत्पादन गर्नु पर्नेमा अध्यक्ष शेर्पाले जोड दिए । ९० प्रतिशत शेर्पा बालबालिकाहरुले आफ्नो भाषा प्रयोग गर्न छाडेको अध्यक्ष शेर्पाको कथन रहेको छ ।
नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष समेत रहेका नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पाले भाषा पहिचान भएको बताउदै शेर्पा भाषाको प्रयोगलाई जोड दिए । विभिन्न स्थान अनुसार शेर्पा भाषाको शब्दहरु फरक भएको र त्यस्तो शब्दहरुलाई पर्यावाचीको रुपमा लिनु पर्ने उनले बताए।
विश्व शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा शेर्पाका अनुसार शेर्पा भाषाको एप निर्माण गर्न देश विदेश बाट समुदायका विभिन्न संघ संस्था तथा व्यक्तिहरु बाट ३५ लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको थियो। एप निर्माणमा हाल सम्म २५ लाख रुपैयाँ खर्च भएको पनि अध्यक्ष शेर्पाले जानकारी दिएको छ।
बौद्ध धर्म गुरु सेङटक् टुल्कु रिन्पोछेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विश्वका विभिन्न देश बाट संघ संस्थाका प्रतिनिधिहरुले zoom live मार्फत सहभागिता जनाएका थिए । संयुक्त राज्य अमेरिका बाट शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी शेर्पा ‘एपी लामा’ले जुम लाइभ मार्फत कार्यक्रमलाई सम्बोधन गरेका थिए। कार्यक्रममा शेर्पा भाषा एपको परियोजनाको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो।
