युनिकोड    राशिफल       TashiTelevision                     

भोजपुर जिल्लाको भोजपुर नगरपालिका ९ स्थित पानीट्याङकीमा नवनिर्मित ज्याङछुव छोर्तेनको राब्ने अर्थात प्राणप्रतिष्ठान कार्यक्रम सम्पन्न भएको छ । २५६७ ‌औं बुद्ध जयन्तीको अवसरमा बैशाख २२ गते विशेष कार्यक्रमको आयोजना गरी लामा ङवाङ सांगे शेर्पा, टुल्कु ङवाङ साम्तेन शेर्पा र पेमा छ्योलिङ गुम्बाका प्रमुख लामा किपा शेर्पा द्धारा प्राण प्रतिष्ठान सम्पन्न गरिएको हो ।

बुद्धको जन्म, बुद्धत्व प्राप्ति तथा महापरिनिर्वाणको त्रिसंयोग रहेको पवित्र दिन बुद्ध जयन्तीमा स्तूपाको राब्ने गरिएको हो । संयुक्त राज्य अमेरिका न्युयोर्क निवासी काठमाण्डौ बौद्धका फरा देण्डी लामा शेर्पाले पेमा छ्योलिङ गुम्बा परिसरमा सो स्तूपा निर्माण गरेका हुन् ।

२०७९ फाल्गुन ६ गते छोठुल दुछेनको दिन निर्माण सुरु भएको स्तूपा २०८० वैशाख २२ गते निर्माण सम्पन्न भएको हो । भगवान बुद्धको चित्तको प्रतीक चैत्य फाल्गुनको छोठुल दुछेन, चैत्य पूर्णीमा र वैशाख पूर्णीमाको महत्पपूर्ण तीथिमा निर्माण भएको हो ।

फरा देण्डी लामा शेर्पा र ङिम दिकी टाक्तो लामा शेर्पा दम्पतीको लगानीमा निर्माण भएको ज्याङछुव स्तूपा २४ फिट अग्लो रहेको छ । शेर्पा दम्पतीले उक्त स्तूपा निर्माणमा २६ लाख २२ हजार ६ सय ३० रुपैयाँ खर्चिएका छन् ।

निर्माण गरिएको ज्याङछुव स्तूपामा राखिएको मणिचक्र अर्थात हातले घुमाउने माणे फरादेण्डी लामा शेर्पाका छोराहरु आङ टावा लामा शेर्पा, आङ लाक्पा लामा शेर्पा र बुहारी निरुता महर्जन लामा शेर्पाले प्रायोजन गरेका हुन् ।

स्तूपा निर्माण गर्ने फरा देण्डी लामा शेर्पाका अनुसार दुई बर्ष लगाएर विभिन्न अस्तुधातु संकलन गरी सो स्तूपा निर्माण गरिएको हो ।

कुनै पनि मुर्ति  वा स्तूपा भित्र गर्भगृह अर्थात धारणि मन्त्र, अनेक रत्न र विभिन्न पवित्र वस्तुहरु राखी त्यसलाई जिवित पार्ने विधिलाई प्राणप्रतिष्ठान वा राब्ने भनिन्छ।

विश्वभर बुद्ध जयन्ती मनाई रहदाँ भोजपुरमा भने सो दिन स्तूपाको राब्ने भएको हो । बुद्ध जयन्तीमा संयुक्त राष्ट्र संघको कार्यालयहरुमा विशेष कार्यक्रमको आयोजना हुने गरेको छ । सो दिन संयुक्त राष्ट्रसंघ अन्तर्गतको सबै राष्ट्रमा ‘अन्तर्राष्ट्रिय बैशाख दिवस’ बुद्ध जयन्ती मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसंघले विगत २१ वर्ष देखि बुद्ध जयन्ती मनाउन्दै आएको छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९९ मा बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय बैशाख दिवसको मान्यता दिएको थियो । राष्ट्रसंघले सो दिन आफ्ना सबै देशमा रहेका कार्यालयहरुमा बिदा दिने गरेको छ ।

त्रिसंयोग दिवसमा कुनै पनि राम्रो कार्य गर्दा अरु बेला भन्दा सयौँ गुणा पुण्य हुने धार्मिक विश्वास रहेको छ । यहि विश्वासका साथ भोजपुरमाको पानीट्याङ्कीमा स्तूपाको राब्ने भएको हो ।

बौद्ध धर्मालम्बिहरुले विशेष गरी ४ वटा महोत्सवहरुलाई प्राथमिकता दिएको पाईन्छ । जस्तै ठुङकार दुछेन अर्थात सागादावा, क्षोकर दुछेन, ल्हाबब दुछेन र छोठुल दुछेन गरी चार महोत्सव रहेको पाईन्छ ।

बुद्धको जन्म, बुद्धत्व लाभ तथा महापरिनिर्वाणलाई नै त्रिसंयोग दिवस भनिन्‍छ । भगवान बुद्धको १२ लिला भएता पनि खास गरी हिमाली भेगमा यी ४ महोत्सवहरुलाई मूल रुपमा मनाँउदै आइरहेको पाइन्छ ।

बौद्धमार्गीहरुले ८ प्रकारको चैत्य निर्माण गर्ने गरेको पाईन्छ । बुद्धको जीवन संग सम्बन्धित ८ घटनाहरुलाई ८ स्तूपाहरुको रुपमा चित्रण गरिएको पाईन्छ ।

८ स्तूपाहरु के के हुन् भन्दा जन्मिदा बहुद्धार अर्थात पद्मकुट चैत्य निर्माण गरेका थिए । यसलाई भोट भाषामा पेपुङ वा टाशी गोमाङ छोर्तेन भनिन्छ । यो स्तूपा राजा शुद्धोधनले २२ बर्ष पछि पुत्रलाभ भएको खुसीयालीमा निर्माण गरेको हो ।

ज्याङछुव छोर्तेन अर्थात बोधि चैत्य सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरे पछिको खुसीयालीमा तत्कालिन लिच्छवी राजाले निर्माण गरेका थिए ।

एन्दुम छोर्तेन अर्थात संघपुनर्मेलको निम्ति भगवान बुद्धले निर्माण गर्न लगाएको चैत्य हो ।

त्यस्तै ल्हाबाब छोर्तेन अर्थात देवअवतरण चैत्य भगवान बुद्ध ३३ कोटी देवलोकमा आफ्नी दिंवगत मातालाई भेटेर यस जम्बुदीपमा फर्केर आउँदा खुसीयालीमा तत्कालिन लिच्छवीहरुले विहारको साङकाश्य स्थित निर्माण गरिएको चैत्य हो । यस चैत्यमा भर्‍याङको आकार राखी निर्माण गरिएको हुन्छ ।

धर्मचक्र प्रवर्तन चैत्य अर्थात क्षोखोर छोर्तेन खास गरी भगवान बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि विहारको सारनाथमा पहिलो पटक चार आर्यसत्य धर्मदेशना दिए पछि त्यसैको स्मरणमा निर्माण गरिएको चैत्य हो ।

विजय चैत्य अर्थात नाम्गेल छोर्तेन भगवान बुद्ध बिरामी पर्दा निर्माण गरिएको चैत्य थियो । जस्को कारण भगवान बुद्धको आयु केही बर्ष लम्बिएको थियो ।

ऋद्धिप्रतिहार्य चैत्य अर्थात छोठुल छोर्तेन ५ अबौद्ध गुरुहरुलाई विनित गर्न निर्माण गरिएको चैत्य हो । जस्ले भगवान बुद्धलाई हरेक पटक बेइजत गर्ने र बुद्धको कुरा काट्ने गर्थे । तर पछि श्राबस्तिमा राजा प्रसेनजितको आयोजनामा एक विशेष र भव्य कार्यक्रम हुदाँ बुद्धले फाल्गुन शुक्ल प्रतिपदाको दिन देखि १५ दिन सम्म आफ्नो ऋद्धिशक्ति प्रदर्शन गरी यी ५ तैथिक गुरुहरुलाई पराजित गराई तिनीहरु त्यहाँ बाट भागेका थिए ।

परिनिर्वाण स्तूपा अर्थात ङ्याङदे छोर्तेन बुद्धले ८० बर्ष पूरा गरी ८१ बर्ष लाग्दा आफ्नो भौतिक शरीर कुशीनगरमा पुगेर त्यागेकाले घोप्ट्याएको घण्टीको आकारमा सबै जना पिर र चिन्ताले स्तब्ध भई बुद्धको स्मरणमा यो चैत्य निर्माण गरेका थिए । यसलाई धर्मधातु चैत्य अर्थात शून्यताको चैत्य पनि भनिन्छ ।

यसरी बुद्धको जीवन संग सम्बन्धित घटनाहरुलाई समेटिएर ८ प्रकारको चैत्यहरुको निर्माणको थालनी भएको पाईन्छ।

चैत्य निर्माणको लाभहरु

स्तूपा निर्माण गर्ने व्यक्ति कहिल्यै पनि तीन दुर्गतिमा जस्तै पशु, प्रेत र नरक भएर दुख भोग्नु पर्दैन अथवा त्यस बाट मुक्ति पाइन्छ भन्ने जन विश्वास रहेको छ । पुण्य अधिक वृद्धि भएर जाने हुदाँ विघ्नबाधा आफै हटेर जानेछ । यो जुनी र पहिलेका जुनीहरुमा संचित गरेका सबै पापहरु कट्टी अर्थात शोधन भएर जानेछ ।

जुन स्थानमा चैत्य निर्माण गरिन्छ त्यस स्थानमा रोग व्याधि कम हुने, खडेरी, अतिवृष्टि, अनावृष्टि, भूक्षय र बाढीपहिरो कम हुनुका साथै सहकाल हुने हुँदा अनिकाल लाग्दैन । युद्धहरु, झैझगडा, वेमेलहरु शान्त हुनुका साथै मेलमिलाप र भातृत्वको भाव उत्पन्न भई सबैतिर सुख र शान्ति छाउने सम्भावन हुन्छ ।

चैत्य निर्माण गर्नाले यस जुनीमा मात्रै नभई अनन्त अर्को जुनीहरुमा पनि कहिल्यै मानसिक असन्तुलन हुँदैन । अपाङ्ग भएर जन्मिनु पर्दैन, अन्धो र कुप्रो भएर जन्मिनु पर्दैन भनि बौद्ध शास्त्रहरुमा उल्लेख गरिएको पाइन्छ ।

स्तूपा निर्माण गरिएको पुण्यले गर्दा निर्माण कार्यमा सहयोग गर्ने व्यक्तिहरुको ख्याति र प्रसिद्धि टाढा-टाढा सम्म फैलिनेछ । स्तूपा निर्माण गर्ने व्यक्तिलाई देव, नाग, यक्ष आदिले मात्र नभई मनुष्यहरुले पनि सधै प्रशंसा गरिरहनेछ । स्तूपा निर्माण गर्ने व्यक्तिलाई कुनै पनि मनुष्य तथा अमनुष्यले हानी पुर्‍याउन सक्दैन ।

स्तूपा निर्माण गर्नाले अपार पुण्‍य लाभ त हुन्छ नै त्यस भन्दा बाहेक सुस्वास्थ्य, दीर्घायु, धनवान, रुपवान, चरित्रवान र शीलवान हुनका साथै मृत्युपर्यन्त सुखवति भुवनमा उस्को जन्म हुने सामाजिक तथा धार्मिक विश्वास रहेको छ ।

स्तूपामा मणिचक्र

स्तूपामा भएको मणिचक्रलाई हातेमाणे भनेर चिनिन्छ । यस माणे भित्र खास गरी लोकेश्वरको मन्त्र, गुरु रिन्पोछेको मन्त्र, अमिताआयुष बुद्धको मन्त्र, ताराको मन्त्र, मन्जुश्रीको मन्त्र आदि बेरिएर राखिएको हुन्‍छ । जतिपल्ट यसलाई घुमाउछ त्यति पटक ज्यामितीय हिसाबमा पुण्य वृद्धि भएर जान्छ । यो मणिचक्रको बाहिर भाग भने तामाको पातामा रन्जना लिपिमा ओम मणि पद्मे हुँ कुँदिएको हुन्छ ।

फरादेण्डी लामा शेर्पा परिवारले भोजपुर जिल्लाको भोजपुर नगरपालिका ९ स्थित पानीट्याङकीमा स्तूपा निर्माण गरिदिए पछि स्थानीयहरु हर्षित भएका छन् । स्तूपा जिल्लाकै एक अद्धितीय सम्पदाको रुपमा आकर्षण बनेको छ ।

स्तूपा निर्माण गर्ने फरादेण्डी लामा शेर्पा को हुन ?

फरादेण्‍डी लामा शेर्पा चलचित्र निर्माता तथा निर्देशकको रुपमा सुपरिचित नाम हो । उनले शेर्पा भाषाको कुसुम चलचित्र निर्माण गरेर नेपाली फिल्मी क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् ।

चलचित्र मार्फत शेर्पा समुदायको भाषा, धर्म, प्रथा, परम्परा, रीतिरिवाज, कला तथा संस्कृति आम दर्शक माझ पस्कने काम गरिसकेका छन् । कुसुम चलचित्रमा निर्माता, काष्टिङ निर्देशकको भूमिका निर्वाह गरेका शेर्पा स्वंयमको  कथा र संगीत रहेका छन् ।

उनले निर्माण गरेको कुसुम सर्वोत्कृष्ट राष्ट्रिय चलचित्रको रुपमा पुरस्कृत चलचित्र हो । निर्माता फरा देण्डी लामा शेर्पाका अनुसार कुसुम सरकारी निकायमा आधिकारिक रुपले दर्ता भएको शेर्पा भाषाको पहिलो चलचित्र हो । शेर्पा संघ अमेरिकाका संस्थापक सदस्य र सल्लाहकार रहेका उनि शेर्पा किदुग अमेरीकाको आजीवन सदस्य हुन् ।

भोजपुरमा ज्याङछुव स्तूपा निर्माण गर्ने फरा देण्डी लामा शेर्पा

स्तूपा राब्ने तथा प्राण प्रतिष्ठान कार्यक्रममा विभिन्न संघ संस्थाले फरा देण्डी लामा शेर्पा र ङिम दिकी टाक्तो लामा शेर्पा दम्‍पतिलाई सम्मान गरेको छ । भोजपुर नगरपालिकामा भगवान बुद्धको चित्तको प्रतीक ज्याङछुव छोर्तेन निर्माण गरी प्रशंसनीय कार्य गरेको भन्दै शेर्पा दम्पतिलाई सम्मान गरेको हो । शेर्पा दम्पतिलाई पेमा छ्योलिङ गुम्बा, नेपाल शेर्पा संघ जिल्ला कार्य समिति भोजपुर र नेपाल शेर्पा संघ नगर कार्य समिति भोजपुरले उच्च कदर गर्दै सम्मान गरेको कार्यक्रम आयोजकले जनाइएको छ ।

भोजपुर नगरपालिकाको पानी ट्याङ्कीम निर्माणधिन पेमा छ्योलिङ गुम्बा आउने सालको बुद्ध जयन्ती सम्ममा निर्माण सम्पन्न गरी राब्ने अर्थात प्राण प्रतिष्ठान गर्ने लक्ष्य रहेको गुम्बा निर्माण समितिले टाशी टेलिभिजनलाई जानकारी दिएको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर