नेपाल शेर्पा विद्यार्थी संघले नयाँ बर्षको अवसरमा पुरानो लुङताको व्यवस्थापन र नयाँ लुङताको अर्पण तथा वातवरण सरसफाई कार्यक्रम २०८० सम्पन्न गरेको छ ।
शेर्पा विद्यार्थीहरुको छाता संगठन नेपाल शेर्पा विद्यार्थी संघ द्धारा “वातावरण सरसफाई संगै हाम्रो धर्म, परम्परा र संस्कृतिको जगेर्ना” भन्ने मूल नाराका साथ बौद्ध धर्म, परम्परा र संस्कृतिको जगेर्ना संगै वातावरणको संरक्षण र सम्पूर्ण प्राणीहरुको हितको लागि काठमाण्डौ सहित देशका विभिन्न ११ भन्दा बढी जिल्लाहरुमा एकै साथ एकै दिन बृहत रुपमा “पुरानो लुङताको व्यवस्थापन र नयाँ लुङताको अर्पण तथा वातावरण सरसफाई कार्यक्रम २०८०” एउटा अभियानको रूपमा सम्पन्न भएको हो ।
शुक्रबार काठमाण्डौको जोरपाटीमा आयोजित कार्यक्रमको उद्घाटन नेपाल बौद्ध ञिङमा संघका उपाध्यक्ष समेत रहेका बौद्ध धर्म गुरु खेन्पो ङवाङ लुडुपले गरेका थिए । नेपाल शेर्पा विद्यार्थी संघको महासचिव पेम्बा शेर्पाको संयोजकत्वमा आयोजित कार्यक्रमलाई नेपाल शेर्पा विद्यार्थी संघका कार्यवहाक अध्यक्ष छिरिङ शेर्पा र खेन्पो ङवाङ लुडुपले सम्वोधन गरेका थिए । उद्घाटन कार्यक्रममा खेन्पो ङवाङ लुडुपले लुङताको बारेमा धर्म प्रवचन दिएका थिए । कार्यक्रममा पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा र धर्मगुरु लामा ङवाङ पल्जोरको उपस्थिति रहेको थियो ।
नेपाल शेर्पा विद्यार्थी संघका कार्यवहाक अध्यक्ष छिरिङ शेर्पाले शिक्षा मात्र आर्जन गरेर नहुने बताउँदै विद्यार्थीहरुले शेर्पाहरुको भाषा, धर्म, परम्परा, संस्कृति र रीतिरिवाजलाई आत्मसात गर्नु पर्नेमा जोड दिए । अध्यक्ष शेर्पाले जुट र सुती बाट बनेको वातवरणमैत्री लुङताको प्रयोग गर्नु पर्ने बताए ।
काठमाण्डौमा नयाँ लुङताको राब्ने अर्थात प्राणप्रतिष्ठा कार्यक्रममा स्वयंसेवकहरु जम्मा भई समूह विभाजन गरी उपत्यका आसपासका विभिन्न तीर्थस्थलहरुमा पुरानो लुङताको व्यवस्थापन र नयाँ लुङताको अर्पण तथा वातावरण सरसफाई कार्यक्रम भएको छ । उपत्यका आसपासका नमोबुद्ध, साँखु, मणिचुड र फर्पिङ सहित सोलुखुम्बु, दोलखा, रामेछाप, ताप्लेजुङ, ओखलढुङ्गा, संखुवासभा लगायत ११ भन्दा बढी जिल्लाहरुमा सो कार्यक्रम भएको हो ।
नयाँ लुङताको अर्पण गर्नुको साथै जमिनमा असरल्ल छरिएको लुङता संकलन गरी नेपाल शेर्पा विद्यार्थी संघले विधिवत रुपमा व्यवस्थापन जस्तो महत्वपूर्ण कार्य गरेको छ । नेपाल शेर्पा विद्यार्थी संघका महासचिव तथा कार्यक्रम संयोजक पेम्बा शेर्पाका अनुसार धार्मिक विधि अनुसार पुरानो लुङताको व्यवस्थापन तथा नयाँ लुङता अर्पण कार्य भएको हो ।
नेपाल शेर्पा विद्यार्थी संघकी केन्द्रीय सदस्य दावा याङजी शेर्पाको संयोजकत्वमा वि.स. २०७९ साल वैशाख १ गते पुरानो लुङताको व्यवस्थापन तथा नयाँ लुङता अर्पण कार्यक्रम पहिलो पटक आयोजना भएको थियो । नेपाल शेर्पा विद्यार्थी संघले यस वर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिएको हो ।
नेपाल शेर्पा विद्यार्थी संघका महासचिव तथा कार्यक्रम संयोजक पेम्बा शेर्पा बौद्ध धर्म गुरु खेन्पो ङवाङ लुडुप बाट सम्मान ग्रहण गर्दै ।

















