काठमाण्डौको स्वयम्भू स्थित नेपाल बुद्ध धर्म सेवा संघमा तेस्रो बज्रगुरु थ्युङग्युर ‘दश करोड बज्रगुरु जप’ कार्यक्रम सुरु भएको छ । नेपाल बुद्ध धर्म सेवा संघ, हिमाली शेर्पा समाज र सृजनशील आमा समूहको संयुक्त आयोजनामा शुक्रबार बाट बज्रगुरु जप कार्यक्रम सुरु भएको हो ।
बौद्ध धर्म गुरु ज्याङपा लामा रिन्पोछे र नेपाल बुद्ध धर्म सेवा संघका प्रमुख लामा खेन्पो लोब्साङ सेरापको समुपस्थितिमा आयोजना भएको कार्यक्रममा बौद्ध धर्मलम्बिहरुको उलेख्य उपस्थिति रहेको छ । दैनिक बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म हुने बज्रगुरु जप कार्यक्रममा ७ सय भन्दा बढी मानिसहरुको सहभागिता रहेको आयोजकले जनाइएको छ ।
नेपाल बुद्ध धर्म सेवा संघका अध्यक्ष अमृत कुमार खड्काका अनुसार संघको बार्षिक कार्यक्रम अनुरुप बज्रगुरु जप कार्यक्रम आयोजना भएको हो । अध्यक्ष खड्काले कार्यक्रम कति दिनमा सकिने भन्ने कुरा मानिसहरुको सहभागितामा भर पर्ने बताए ।
नेपाल बुद्ध धर्म सेवा संघका निवर्तमान अध्यक्ष सांगेल शेर्पा १० करोड बज्र गुरु जप भनिए पनि ११ करोड पटक मन्त्र जप गर्नु पर्ने बताउँछन् ।
नेपाल बुद्ध धर्म सेवा संघका वरिष्ठ उपाध्यक्ष निम्तो शेर्पाका अनुसार चैत्र १० गते देखि सुरु भएको बज्रगुरु जप कार्यक्रम चैत्र १९ गते सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
बज्रगुरु जप कार्यक्रमका लागि नेपाल बुद्ध धर्म सेवा संघका प्रमुख लामा खेन्पो लोब्साङ सेरापले ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । त्यस्तै समाजसेवी फुरिता शेर्पाले ७५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
नेपाल बुद्ध धर्म सेवा संघमा आयोजना हुने गरेको हरेक बज्रगुरु जप कार्यक्रममा हिमाली शेर्पा समाजले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । हिमाली शेर्पा समाजका अध्यक्ष दाउछिरी शेर्पाका अनुसार पहिलो पटक आयोजना गरेको बज्रगुरु जप कार्यक्रममा समाजले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।
संघका कोषाध्यक्ष ठिलिन शेर्पाका अनुसार नेपाल बुद्ध धर्म सेवा संघ, हिमाली शेर्पा समाज र सृजनशील आमा समूहबाट आर्थिक सहयोग संकलन गराएर अक्षयकोष खडा गरी नेपाल बुद्ध धर्म सेवा संघमा बज्रगुरु जप जस्ता कार्यक्रम सुरुवात भएको हो ।
कार्यक्रममा चिया, नास्ता र खानाको व्यस्था भएको सृजनशील आमा समूहकी उपाध्यक्ष निमा वङमु शेर्पाले बताइन् ।
नेपाल बुद्ध धर्म सेवा संघमा बर्षमा ५ वटा पूजा कार्यक्रम हुने गरेको द्धितीय उपाध्यक्ष फुर्वा शेर्पाले टाशी टेलिभिजनलाई जानकारी दिएको छ ।
कार्यक्रममा नेपाल बौद्ध धर्म परिचय समाजका अध्यक्ष गेशे लोब्साङ दावाले धार्मिक प्रवचन दिइरहेका छन् ।
नेपाल बुद्ध धर्म सेवा संघले बज्रगुरु जप कार्यक्रममा आउन चाहने श्रद्धालु भक्तजनहरुलाई बस सेवाको व्यवस्था गरेका छ । संघले जोरपाटीको अत्तरखेल हुँदै बौद्ध, चाबहिल देखि स्वयम्भू सम्म बस सेवाको व्यवस्था गरेको हो ।
बज्रगुरु जप गर्नाले व्यक्तिमा मात्र नभई विश्वमा हरेक जीव-जगतको कल्याण हुने, शुख, शान्ति र समृद्धि हुने, रोग व्याधि हटेर जाने, अनेक प्रकारका मानसिक तथा शारीरिक दुखकष्टहरु बाट मुक्त भई अन्तिममा परम शान्तिमा प्रतिष्ठित हुन बज्रधर भूमि प्राप्त गर्न हिमाली बौद्ध सम्प्रदायहरु तथा बौद्ध धर्मलम्बीहरुले यस प्रति अगाध विश्वास गरेको पाइन्छ ।
भोटमा ८ औं शताब्दि पछि जब गुरु रिन्पोछे त्यहाँ बाट अन्तरधान भए । त्यस पछि रिन्पोछेले बुद्ध धर्ममा पुर्याएको अतुलनीय देनलाई स्मरण गर्दै विशेष २५ शिष्य(जेबाङ ङ्येरङा) लगायत उनका असङ्ख्य शिष्यहरुले उनको मन्त्र जप गर्ने कार्यको थालनी गरेको पाइन्छ । रिन्पोछेको विस्तृत जीवनी पेमा काथाङ नामक पुस्तकमा विस्तारमा उल्लेख रहेका छन् । तसर्थ गुरु रिन्पोछेलाई दोश्रो बुद्धको रुपमा आस्था राख्दै यस्ता १० करोड बज्रगुरु जप कार्यक्रम प्राचिन काल देखि हाल सम्म चलिआएको देखिन्छ ।
