महानिधि प्रकाशक ज्याछोन ञिङ्पो द्धारा विरचित कोन्छ्योग च्यिदुइको नेपाली भाषामा अनुवादित ग्रन्थ रत्नसमुच्चय सार्वजनिक भएको छ । हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रले बौद्धमा एक कार्यक्रमको आयोजना गरि डोल्पो टुल्कु रिन्पोछे द्धारा विमोचन गरी रत्नसमुच्चय सार्वजनिक गरिएको हो ।
महायानी तथा बज्रयानी बौद्ध परम्परा अनुसार जन्म देखि मृत्यु सम्मको कर्मकाण्डहरुमा रत्नसमुच्चय अर्थात कोन्छ्योग च्यिदुइको पाठ गर्ने गरिन्छ । हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्र द्धारा अनुवादित उक्त ग्रन्थको अनुवादकहरु आचार्य कर्म ङावाङ ग्याल्छेन योञ्जन, लोपोन छिरिङ रावल, गेला कोशिस लोब्साङ वाइबा, लामा पेमा नाम्ग्याल र कर्मा वाङचु शेर्पा रहेका छन् ।
हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रका अध्यक्ष कोशिस लोब्साङ वाइबाका अनुसार डोल्पो टुल्कु रिन्पोछेको आर्थिक सहयोगमा यो अनुवाद कार्य सम्पन्न भएको हो । अध्यक्ष वाइबाले अनुवाद कार्य निकै गाह्रो काम भएको बताए ।
डोल्पो टुल्कु रिन्पोछेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बुद्धवचन अनुवाद समिति नेपालका अध्यक्ष टीका शेर्पा, भुटानकी राजकुमारी आशी केशाङ, लोचावा पुण्य प्रसाद पराजुली, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष निमी शेर्पा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डोल्पो टुल्कु रिन्पोछेले कोन्छ्योग च्यिदुइको अभ्यासको फैलावट तिब्बत, नेपाल, भुटान र भारत लगायत विभिन्न देशमा रहेको बताए । अभ्यास गर्न सजिलो र ठूलो परिणाम भएका कारण यो ग्रन्थ धैरै ठाँउमा फैलिएको हुन सक्ने रिन्पोछेको कथन रहेको छ । गुरु रिन्पोछेले धर्मदानको रुपमा दिएको ग्रन्थ भएकाले धर्मरत्नको रुपमा हेरेर कोन्छ्योग च्यिदुइको अध्यन र पूजापाठमा रिन्पोछेले जोड दिए । पछिल्लो दिनमा अनुवादकहरुको संख्या बढ्दै जानु राम्रो भएको बताउँदै रिन्पोछेले शब्दकोश निर्माण गर्न हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रलाई आग्रह गरे ।
कार्यक्रममा हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा डोल्पो टुल्कु रिन्पोछे, बुद्धवचन अनुवाद समिति नेपालका अध्यक्ष टीका शेर्पा, छिरिङ रावल, दिपेन्द्र थापा मगर, छोइङ राङडोल रोकाया मगर, लामा पेमा नाम्ग्याल, पुण्य प्रसाद पराजुली, एलिजावेथ लामा, आचार्य थुप्तेन, रिलमु शेर्पा, दिपक लामा बम्जन र कुमार रञ्जित रहेका छन् ।
[ पुस्तकको लागि सम्पर्क : स्वयम्भूको लागि अस्टमान बल – 9808778799
बौद्धको लागि गेन्ला कोशिस लोब्साङ वाइबा- 9844193033 र जगत वाइबा- 9841141663 ]
