ट्रुङराम ग्याल्टुल रिन्पोछेको गेगेन अर्थात गुरु स्वर्गीय खेन्चेन रिन्पोछे ठिन्ले पाल्जोरको बार्षिक पुण्यतीथिमा याङज्युग् कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाण्डौको चुच्चेपाटी स्थित नेपाल ट्रुङराम गुम्बामा सो कार्यक्रम सम्पन्न भएको हो । ट्रुङराम ग्याल्टुल रिन्पोछेको संस्था युनाइटेड ट्रुङराम बुद्धिष्ट फाउण्डेशन(UTBF) द्धारा आयोजित उक्त कार्यक्रमको व्यवस्थापन यूटीबीएफको उपसमिति हिमालयन मेरिट कमिटीले गरेको हो ।
कार्यक्रममा ट्रुङराम ग्याल्टुल रिन्पोछेले वाङका बारेमा प्रकाश पार्दै उपस्थित सबैलाई बज्रसत्वको वाङ प्रदान गरेका थिए । वाङ बौद्ध धर्मको बज्रयान सम्प्रादयमा मात्र हुने र वाङ बिना बज्रयानको अभ्यास गर्न नसकिने रिन्पोछेको भनाई रहेको छ । बज्रयानमा प्रवेश नै वाङ बाट हुने हुदाँ सबैलाई पूजा भन्दा वाङमा बढी रुची भएको रिन्पोछेको कथन रहेको छ ।
ट्रुङराम ग्याल्टुल रिन्पोछे ट्रुङराम वंशका प्रमुख र बौद्ध धर्मको काग्यु वंशको सर्वोच्च टुल्कुहरु मध्येका एक हुन् । उनी पीएचडी हासिल गर्ने पहिलो अवतारी लामा हुन् । अमेरिकाको हार्वर्ड युनिभर्सिटी बाट इन्डो-टिबेट बौद्ध अध्यनमा उनले पीएचडी गरेका हुन् ।
बौद्ध शिक्षाको विस्तारका लागि रिन्पोछेले एसिया र संयुक्त राज्य अमेरीकाभर विभिन्न संगठनहरु स्थापना गरेका छन् । नेपाली शेर्पा परिवारमा जन्मेका ट्रुङराम ग्याल्टुल रिन्पोछे चौथो ट्रुङराम ग्याल्वा रिन्पोछेको रुपमा १६ औं कर्मपाले पहिचान गरेका थिए ।
कार्यक्रमका व्यवस्थापक हिमालयन मेरिट कमिटीले विक्रम सम्वत २०५२ साल देखि बार्षिक रुपमा साकादावाको अवसरमा १० करोड मणि जप कार्यक्रमको आयोजना गर्दै आएको छ । हिमालयन मेरिट कमिटीले हाल सम्म २५ पटक मणि जप कार्यक्रम आयोजना गरिसकेको छ । २०७७/०७८ सालमा मणिजप कार्यक्रम नहुदाँ कमिटीले कोभिढ महामारीको चपेटामा परेका दुखी पीडितहरुलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरेका थिए ।
