काठमाडौं — नेपाल शेर्पा विद्यार्थी संघको १५ औँ राष्ट्रिय महाधिवेशन माघ ३ गते हुने भएको छ। संघको केन्द्रीय कार्यसमितिले एक सूचना जारी गर्दै महाधिवेशन भव्य रूपमा सम्पन्न गरिने जानकारी दिएको छ।
महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न ४०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको संघले जनाएको छ। महाधिवेशनमा संघको संगठनात्मक प्रतिवेदन महासचिवद्वारा तथा आर्थिक प्रतिवेदन कोषाध्यक्षद्वारा प्रस्तुत गरिनेछ।
महाधिवेशनको संयोजकमा संघका अध्यक्ष फुर्वा छिरिङ शेर्पा, सह–संयोजकमा वरिष्ठ उपाध्यक्ष गेलु शेर्पा तथा महाधिवेशन सचिवमा महासचिव पेम्बा ग्याल्जेन शेर्पा रहेका छन्।
संघले केन्द्रीय, प्रदेश, जिल्ला तथा पालिका समितिका पदाधिकारी, प्रतिनिधि तथा शुभेच्छुकहरूलाई तोकिएको मितिमा उपस्थित भई महाधिवेशनलाई सफल बनाउन अनुरोध गरेको छ।
संघका अनुसार महाधिवेशनको स्थान तथा अन्य विवरणहरू पछि सार्वजनिक हुनेछ। महाधिवेशन सम्बन्धि थप जानकारीका लागि ९८६१५८८७१५ नम्बरमा सम्पर्क गर्न सकिने संघले जनाएको छ।
देशभर रहेका शेर्पा विद्यार्थीहरूको हक–हित, अधिकार, शैक्षिक उत्थान तथा सामाजिक चेतनाको विकासका लागि स्थापना भएको नेपाल शेर्पा विद्यार्थी संघले स्थापना कालदेखि नै शेर्पा विद्यार्थीहरूको नेतृत्व विकास, एकता, सुदृढीकरण तथा समुदायको समग्र प्रगतिमा निरन्तर योगदान दिँदै आएको संघले जनाएको छ।

