युनिकोड    राशिफल       TashiTelevision                     

काठमाण्डौको फर्पिङमा नवनिर्मित सोवा रिक्पा तथा ध्यान केन्द्रको प्राण प्रतिष्ठान कार्यक्रम सम्पन्न भएको छ।

फागुन ९ गते शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी सोवा रिक्पा तथा ध्यान केन्द्रको प्राण प्रतिष्ठान कार्यक्रम सम्पन्न भएको हो।

दोर्जी छेवाङ रिन्पोछे, साक्य रिन्पोछे, डोल्पो समाजका संस्थापक अध्यक्ष ङिमा रिन्पोछे द्वारा प्राणप्रतिष्ठान सम्पन्न गरिएको हो।

कुनै पनि मुर्ति, स्तूपा वा गुम्बा भित्र गर्भगृह अर्थात धारणि मन्त्र, विभिन्न रत्न र पवित्र वस्तुहरु राखी त्यसलाई जगाउने विधिलाई राब्ने अर्थात प्राणप्रतिष्ठान भनिन्छ।

सन २०२३ जनवरी १८ अर्थात वि.स. २०७९ साल माघ ४ गते निर्माण सुरु भएको ध्यान केन्द्र वि.स. २०८१ साल फागुन ९ गते निर्माण सम्पन्न भएको हो।

ध्यान केन्द्र परिसरमा विभिन्न संरचनाहरु निर्माण गर्न बाँकी रहेको छ। सोवा रिक्पा तथा ध्यान केन्द्रका सञ्चालक लामा छिरिङ दोर्जे गुरुङका अनुसार ६ वर्ष भित्र सम्पूर्ण संरचनाको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ। सञ्चालक गुरुङका अनुसार ध्यान केन्द्र निर्माणको लागि अनुमानित लागत १७ करोड रुपैयाँ रहेको छ।

फर्पिङको दक्षिणकाली नगरपालिका स्थित डल्लुमा खान्याम रिन्पोछे र लामा छिरिङ दोर्जे गुरुङ द्वारा निर्माण गरिएको सोवा रिक्पा तथा ध्यान केन्द्र ६ रोपनी क्षेत्रफलमा फैलिएको छ।

प्राणप्रतिष्ठान तथा समुदघाट्न कार्यक्रमलाई खान्याम रिन्पोछे, डोल्पो समाजका संस्थापक अध्यक्ष ङिमा रिन्पोछे, साक्य रिन्पोछे,  लामा छिरिङ दोर्जे गुरुङ, बौद्व धर्म गुरु उत्तम मंगल, सोवा रिग्पा इन्टरनेशनल कलेजका निर्देशक डा. तेन्जिङ धर्के गुरुङ र  दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत लगायतले सम्बोधन गरेका थिए।

सोवा रिक्पा तथा ध्यान केन्द्रका प्रमुख खान्याम रिन्पोछेले कार्यक्रमलाई सम्बोधन गर्दै दक्षिणकाली नगरपालिकाका मेयर, वडाध्यक्ष लगायत उपस्थित सबैलाई साथ र सहयोगको लागि धन्यवाद व्यक्त गरे।

रिन्पोछेले सोवा रिक्पा विद्या लाभप्रद रहेको बताउँदै सोवा रिक्पा ञिङमा परम्पराका गुरुहरुले सुरु गरेको बताएका छन्। जस्मा जोग्पा छेन्पो अर्थात महानिस्पन्न ज्ञान प्राप्त गरेका गुरुहरु भएकाले आफूलाई सौभाग्यशाली ठानेको बताए।

डोल्पामा सोवा रिक्पा विधिको अध्यन गर्नेहरु रहेको जानकारी दिंदै डोल्पाको खदिङ गुम्बामा छेवाङ रिन्पोछेले दुजोम तेरसार र अन्य महत्वपूर्ण उपदेशहरु दिएको बताए।

त्यस बेला डोले अर्थात ठोमाको ध्यान सके तीन बर्ष नसके कम्तिमा ६ महिना सम्म ध्यान नगरेकाहरुले यो गम्भीर उपदेश लिन नमिल्ने भएको हुँदा ठोमाको अभ्यास धेरै महत्वपूर्ण भएको खान्याम रिन्पोछेले उल्लेख गरे।

डोल्पामा छेचु ङ्यारङा अर्थात दशमी र डाकिनी पर्वको पूजा गर्ने प्रचलन रहेको जानकारी दिंदै ठोमा अभ्यास र छेचु सम्बन्धि अभ्यास गर्न इच्छा भएकाहरुलाई सोवा रिक्पा तथा ध्यान केन्द्रमा स्वागत गर्ने खान्याम रिन्पोछेले बताए।

सोवा रिक्पा तथा ध्यान केन्द्र निर्माणको लागि कर्मपा उर्गेन ठिन्ले दोर्जेको मत अनुसार स्थान छनोट गरिएको हो।

सोवा रिक्पा तथा ध्यान केन्द्र निर्माण क्षेत्रमा महत्वपूर्ण जडिबुटीहरु आरु, बारु तथा क्युरु जस्ता धेरै वनस्पतिहरु रहेकाले सोवा रिक्पा विद्या आर्जन गर्न नयाँ विद्यार्थीहरुलाई यस स्थान उपयुक्त रहेको खान्याम रिन्पोछेको जिकिर रहेको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले ध्यान केन्द्र स्थापना हुनु सिंगो नगरवासीको लागि खुशीको दिन भएको बताए।

मेयर बस्नेतले ध्यान केन्द्र संग नगरपालिकाले सहकार्य गर्दै स्थानीय सरकारको राजपत्रमा ध्यान केन्द्रलाई समेट्ने प्रतिवद्धता व्यक्त गरे।

डोल्पो समाजका संस्थापक अध्यक्ष ङिमा रिन्पोछेले खान्याम आम्ची रिन्पोछेको कृति अतुलनीय रहेको बताएको छ। सन १९९९ देखि निरन्तर रुपमा डोल्पाको विभिन्न क्षेत्र लगायत अन्य धेरै स्थानहरुमा मानव कल्याणको निम्ति खान्याम रिन्पोछेको देन अतुलनीय रहेको ङिमा रिन्पोछेको कथन रहेको छ।

“भोटका खेन्छेन छुल्‍ठिम लोडोएका अनुसार कुनै पनि शैक्षिक संस्था वा गुम्बामा शिक्षादीक्षा, ध्यान साधना तथा सोवा रिक्पा विधामा पठनपाठन हुन जरुरी छ”, डोल्पो समाजका संस्थापक अध्यक्ष ङिमा रिन्पोछेले भने।

ङिमा रिन्पोछेले आफू खान्याम रिन्पोछेको पथमा सधै लागिरहने बताउदै अभ्यासकर्ताहरुलाई पनि निरन्तर लागिरहन अनुरोध गरे।

कार्यक्रममा सोवा रिग्पा इन्टरनेशनल कलेजका निर्देशक डा. तेन्जिङ धर्के गुरुङले हिमाली क्षेत्रमा प्रचलित परम्परागत चिकित्सा पद्धति सोवा रिक्पाका बारेमा जानकारी दिएका थिए। निर्देशक गुरुङले नवनिर्मित सोवा रिक्पा तथा ध्यान केन्द्रलाई स्थानीय तहले बजेट दिएर वार्षिक कार्यक्रमहरुमा सहयोग गर्नु पर्नेमा जोड दिए।

स्थानीयले काम नलाग्ने भनेर छोडेको पाखामा सोवा रिक्पा तथा ध्यान केन्द्र निर्माण गरी हिरामोती फलाउने काम गरेको भन्दै दक्षिणकाली नगरपालिका वडा नं ५ का वडाध्यक्ष श्याम बहादुर खत्रीले धर्म गुरुहरुलाई धन्यवाद दिए।

३२ वर्ष देखि आम्चीको रुपमा समाजसेवा गरेका खान्याम रिन्पोछेको पहिल्यै देखि नै गुम्बा बनाउने सोच अनुरुप हालको ध्यान केन्द्र निर्माण भएको हो। सोवा रिक्पा तथा ध्यान केन्द्र सोही सोचको परिणती हो।

खान्याम रिन्पोछेले डोल्पाको साल्दाङमा पनि विगत तीन वर्ष देखि गेन्क्षोलिङ गुम्बा सञ्चालन गर्दै आएको छ।

नवनिर्मित सोवा रिक्पा तथा ध्यान केन्द्रका सञ्चालक लामा छिरिङ दोर्जे गुरुङका अनुसार ध्यान केन्द्रमा परम्परागत उपचार विधि, ध्यान-साधना र योग अभ्यास गराइनेछ।

यो केन्द्र शारीरिक र मानसिक स्वास्थ्य सुधारका लागि एक महत्त्वपूर्ण स्थान बन्ने विश्वास गरिएको छ। सोवा रिक्पा विधिका अभ्यास र उपचारका माध्यमबाट स्थानीय समुदायमा शान्ति र समृद्धि ल्याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीका साथै सहयोगी दाताहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रममा दोर्जी छेवाङ रिन्पोछे, डोल्पो समाजका संस्थापक अध्यक्ष ङिमा रिन्पोछे, साक्य रिन्पोछे, सोवा रिग्पा इन्टरनेशनल कलेजका निर्देशक डा. तेन्जिङ धर्के गुरुङ,  दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, डोल्पाको शे-फोक्सुण्डो गाँउपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङ र उपाध्यक्ष पेमा वाङछेन गुरुङ लगायतको उपस्थिति रहेको थियो।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर