काठमाण्डौको बौद्धमा १ हजार शाक्यमुनि बुद्ध प्रतिमाको प्राण प्रतिष्ठा सम्पन्न भएको छ। ‘Light Of Loving Kindness Association’ अर्थात् मैत्रीय आभा संस्थाका अध्यक्ष टुल्कु कोन्छोक छिरिङ रिन्पोछेको नेतृत्वमा उक्त प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको हो।
टुल्कु रिन्छेन पेमा रिन्पोछे, टुल्कु कोन्छोक छिरिङ रिन्पोछे, आजोम रिन्पोछे र मेमे ङवाङ तेन्जिङ रिन्पोछे द्वारा पुष २१ गते काठमाण्डौको बौद्ध स्तूपामा १ हजार शाक्यमुनि बुद्ध प्रतिमाको प्राण प्रतिष्ठा गरिएको हो।
पुष १९ गते काठमाण्डौको टुसाल गुम्बामा विशेष कार्यक्रमको आयोजना गरी बौद्ध धर्म गुरु काथोक सितु रिन्पोछेले प्राण प्रतिष्ठा गरेको १ हजार बुद्ध प्रतिमाहरु बौद्ध स्तूपामा प्राण प्रतिष्ठा गरिएको हो।
प्राण प्रतिष्ठा गरिएको बुद्ध प्रतिमाहरु लुम्बिनी बाट वितरण सुरु गरिएको छ। १ हजार बुद्ध प्रतिमाहरु बुद्ध जन्मस्थल लुम्बिनी लगि छोक पूजा गरी वितरण सुरु गरिएको हो।
लुम्बिनीको मायादेवी मन्दिर लगायत विभिन्न स्थानमा राख्नको लागि ३ वटा बुद्धका प्रतिमाहरु लुम्बिनी विकास कोषलाई प्रदान गरेको छ।
मैत्रीय आभा संस्थाका अध्यक्ष टुल्कु कोन्छोक छिरिङ रिन्पोछेले पुस २३ गते संविधान सभा सदस्य समेत रहेका पूर्व मन्त्री तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामालाई सो प्रतिमाहरु प्रदान गरेको हो।

Light Of Loving Kindness Associationका अनुसार विश्व भरी छरिएर रहेका बौद्ध संघ संस्थाहरुलाई एक-एक वटा बुद्ध प्रतिमा निशुल्क वितरण गरिनेछ।
प्राण प्रतिष्ठा गरिएको मूर्तिहरु भारतको बोधगयामा बुद्धले बुद्धत्व प्राप्त गरिसके पछि निर्माण गरिएको शाक्यमुनि बुद्धको प्रतिमा जस्तै देखिने गरी निर्माण गरिएको हो।
तामा बाट निर्मित ८ इन्चको १ हजार शाक्यमुनी बुद्धका प्रतिमाहरु चीनको छेन्दु प्रान्तमा निर्माण गरिएको हो।
मैत्रीय आभा संस्थाका अध्यक्ष टुल्कु कोन्छोक छिरिङ रिन्पोछेले टाशी टेलिभिजन संग प्रतिक्रिया दिँदै चन्द्र पात्रो अनुसार २५ गते अर्थात ङ्यारङा खाडोमाको विशेष तिथिमा बुद्धको जन्मस्थल नेपालको काठमाण्डौ स्थित बौद्ध महास्तूप परिसरमा रही प्राण प्रतिष्ठा सम्पन्न गरी विभिन्न बौद्ध संघ संस्था तथा गुम्बाहरुमा बुद्धको शासनधर गुरुहरुको सुस्वास्थ्य र दीर्घायूको निम्ति प्रत्येक गुम्बा तथा विहारहरुमा गई उक्त बुद्ध प्रतिमा प्रदान गर्ने लक्ष्य राखिएको बताए।
सिद्धार्थ गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको विशेष स्थान भारतको बोधगयामा पुगी पूजन अर्चनाका साथै बोधगयामा रहेको भगवान बुद्धको प्रतिमालाई आधार मानी त्यहाँ रहेको बुद्ध प्रतिमा जस्तै १ हजार बुद्ध प्रतिमा स्थापना गरेको रिन्पोछेले बताए।

बौद्ध धर्म गुरु आचार्य नुर्वु शेर्पाले विश्व शान्ति, सम्पूर्ण धर्मगुरुहरुको दीर्घायू तथा सुस्वास्थ्यको कामना र बौद्ध धर्मको उत्तरोत्तर प्रगतिको लागि १ हजार शाक्यमुनि बुद्ध प्रतिमा वितरण गरिन लागेको बताए।
३ देखि ४ महिना भित्र सम्पूर्ण प्रतिमाहरु वितरण गरिसक्ने लक्ष्य रहेको धर्म गुरु शेर्पाले टाशी टेलिभिजनलाई जानकारी दिएको छ।
प्राण प्रतिष्ठा कार्यक्रममा अतिथिको रुपमा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राज कुमार लामा लगायतको उपस्थिति रहेको थियो।






