पाँचपोखरी तथा जट्टापोखरी प्रकृतिको अनुपम उपहार । दोलखा र रामेछापको सिमानामा अवस्थित पाँचपोखरी तथा जट्टापोखरी पर्यटकीय गन्तव्य मात्रै नभई धार्मिक तीर्थस्थलको रुपमा पनि प्रसिद्ध छ । जट्टापोखरी र पाँचपोखरी नुम्बुर चीज सर्किटमा पर्ने आकर्षक पर्यटन गन्तव्य हो ।
नुम्बुर चीज सर्किट रामेछापको शिवालय, खहरे, दोलखाको पानीपाखा, मानेडाँडा, जट्टापोखरी, पाँचपोखरी हुदैँ रामेछापको थारे, लछेवार, क्यामा, गुम्देल, थोतुङ, लापचाने र ठोसेको ट्रेकिङ रुट हो । अद्यितीय पर्यटन क्रियाकलापहरुका लागि नुम्बुर चीज सर्किट प्रख्यात छ । साहसिक इको क्याम्पिङ अनुभव, रक क्लाइम्बिङ, उच्च उचाईका तालहरुको अन्वेषण, पहाडको जंगल हुँदै उजाड स्थान हिँड्न, हिमनदीको हिँडाइ, उच्च चरण र याक चीजले शेर्पा सांस्कृतिक अनुभव, आध्यत्मिक र ध्यान भ्रमण, जैविक विविधता र जलवायु परिवर्तनको अध्यन, ग्रामीण शेर्पा जनता संग अन्तरक्रियाका लागि नुम्बर चीज सर्किट आकर्षक मानिन्छ । नुम्बुर चिज सर्किट अन्तर्गत पर्ने यी पर्यटकीय तथा धार्मिक तीर्थस्थल आन्तरिक तथा बाह्य पर्यटकका लागि एक महत्वपूर्ण गन्तव्य हो । समुन्द्री सतहबाट जट्टापोखरी ४ हजार २ सय ५० मिटरको उच्चाईमा अवस्थित छ भने त्यसको केही मास्तिर पाँचपोखरी ४ हजार ५ सय १४ मिटरको उचाईमा रहेको छ ।
पाँचपोखरी तथा जट्टापोखरी पुग्न दोलखाको जिरी क्याङसे पोखरी, गौरीशंकर गाँउपालिकाको चङखु-लुवाङसा, रामेछापको गुम्देल र खहरे हुँदै जाने चार वैकल्पिक बाटोहरु छन् । अधिकांश यात्रीहरु रामेछापको गर्जाङ-खहरे बाटो हुदै जाने गर्दछ । संघीय राजधानी काठमाण्डौ बाट दोलखाको जिरी हुदै गर्जाङ पुग्न सकिन्छ । त्यस्तै रामेछाप सदुरमुकाम मन्थली बाट पनि गर्जाङ पुग्न सकिन्छ । गर्जाङ बाट खहरे सम्म सडकको सुविधा छ । खहरे बाट भने पैदल यात्रा तय गर्नुपर्छ । घ्वाङ खोला कटेर ठाँडो उकालो बाटो हुदै ३ हजार १ सय ८० मिटरको उच्चाईमा रहेको पानीपाखा पुगिन्छ । जहाँ खानेपानी र बस्नको लागि एउटा झुपडी पनि छ । त्यस पछि फोक्टे हुदै ३ हजार ९ सय ३७ मिटरको उचाईमा अवस्थित मानेडाँडा पुगिन्छ । जहाँ बाट बौद्ध ध्वजाहरु फरफराइ रहेको अनि मनमोहक दृश्यहरु देखिन्छ।
स्थानीयका अनुसार मानेडाँडामा चैत देखि कात्तिकको समयमा याकको ताजा चीजको परिकार खाना पाईन्छ । ठाँडो उकालो बाटोको यात्रा गरि मानेडाँडा पुगे पश्चात त्यस पछि भने तेर्सो ओरालो उकाली बाटो हुदै जट्टापोखरी पुग्न सकिन्छ । सामान्यतया रामेछापको गर्जाङ-खहरे बाट दुई दिनको पैदल यात्रा पछि जट्टपोखरी पाँचपोखरी पुग्न सकिन्छ ।
बाटोमा कुनै पनि व्यवसायीक लज, होटलहरु नहुदाँ टेन्ट, खानेकुरा पकाउन र खाद्य सामाग्रीहरुको सबै बन्दोवस्त गरि जानु पर्ने हुन्छ । यात्राका क्रममा हरियाली वनजङ्गल देखि मनोरम प्राकृतिक दृश्य अवलोकन गर्दै पैदल यात्रालाई रोमाञ्चक बनाउन सकिन्छ । जति जति उकालो त्यति त्यति चिसो, हिमालय बाट बहने अत्यन्त चिसो सिरेटो । उकालो यात्रा गर्दा जति कठिन हुन्छ त्यो भन्दा बढी प्राकृतिक सुन्दरताले आनन्दित हुन्छ । हरियाली जंगल, उच्चाई तिर उक्लिदै जादाँ धुपि सल्ला, सुनपाति लगायत विभिन्न पोथ्रा, बुट्यान अर्थात सानासाना बिरुवाहरु हुदैँ उजाड स्थान अनि उच्च उचाईका तालहरुको मनमोहक दृश्यका साथै हाँसिरहेका हिमालहरु । मानौ कि हिमालले यात्रुहरुलाई हेर्दै मुस्कुराइरहेका छन् । पवित्र पोखरी अनि पोखरी परिसर बाट देखिने अत्यन्तै सुन्दर दृश्यहरु जुन शब्दमा वर्णन गर्न सकिदैन । यस्तो आकर्षक पर्यटन गन्तव्य नुम्बुर चीज सर्किटमा पर्ने जट्टापोखरी पाँचपोखरी मार्गमा पर्यटकका लागि आवश्यक पर्यटन पूर्वाधार नभएको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन् । सरकारले अहिले सम्म आवश्यक पर्यटन पूर्वाधार विकास नगरेको बेला स्थानीयहरुले पोखरी परिसरमा विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेका छन् ।
स्थानीयले पछिल्लो चरणमा दोलखा जिरी १ का विकासप्रेमी युवा अभियन्ता नुर्वु शेर्पाको नेतृत्वमा पाँचपोखरी जट्टापोखरी सरसफाई तथा व्यवस्थापन समिति गठन गरेर जट्टापोखरी पाँचपोखरी परिसरमा सार्वजनिक शौचालय निर्माण गर्नुका साथै सरसफाईको अभियान पनि सञ्चालन गरिरहेका छन् । समितिले पोखरी जाने बाटोको विभन्न ठाँउमा फोहोर राख्नको लाग डस्टबिनको व्यवस्था गरेको छ । शौचालय निर्माण र सरसफाई अभियानको लागि युवा व्यवसायी राम कृष्ण शिवाकोटी लगायत विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् । व्यवसायी शिवाकोटीले समितिलाई २ लाख २२ हजार २ सय २२ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । त्यस्तै जनस्तर बाट बौद्ध धर्म गुरुहरु द्धारा १ सय ८ वटा बौद्ध मन्त्र अंकित ध्वजाहरु राख्ने काम पनि सम्पन्न भएका छन् । जस्ले पाँचपोखरी र जट्टपोखरी झनै आकर्षक बनेका छन् । पाँचपोखरी र जट्टापोखरी स्थलमा १०८ दर्छ्यो लगाउने काममा देश विदेश बाट सयौं नेपालीहरुले योगदान गरेका छन् । आवश्यक पूर्वाधारहरुको निर्माणमा सरकारी लगानी शुन्य रहेका बेला यसरी स्थानीयहरुको अग्रसरतामा यस्तो पुण्य काम भएको छ । विशेष तीथिमा पर्यटकको घुइचो हुने यस्तो High Altitude क्षेत्रमा अहिले सरसफाई अभियान, सार्वजनिक शौचालयको निर्माण अनि बुद्ध मन्त्र अंकित लुङदरहरु फरफराउने कार्य प्रशंसनीय छ ।
पाँचपोखरी र जट्टपोखरीको दर्शन गर्दा इच्छा पूरा हुने जन विश्वास पाइन्छ । जनैपूर्णिमाको बेला त यहाँ कुम्भ मेला नै लाग्ने गर्छ । ४ हजार भन्दा बढी तीर्थयात्रीहरु जट्टपोखरी तथा पाँचपोखरीमा जनैपूर्णिमा मनाउन आउने गर्छन् । पवित्र पानीमा डुबुल्की मार्दा आफ्नो इच्छा पूरा हुने विश्वास गरिन्छ । बौद्ध मार्गीहरुले जट्टापोखरी तथा पाँचपोखरी क्षेत्रलाई भेयुल अर्थात गुप्त क्षेत्रको रुपमा पनि लिइन्छ । गुरु रिन्पोछेले अमुल्य निधि(उपदेश) लाई सुरक्षित हिसाबले लुकाएको क्षेत्रलाई नै भेयुल क्षेत्र भनिन्छ ।
गुरु पद्म सम्भव र प्राचिन ञिङमा परम्परामा भेयुल अवधारणको अभ्यास भएको बौद्ध धर्म गुरु से नाम्खा दोर्जे बताउछन् । बौद्ध र हिन्दू धर्मलम्बीहरुको धार्मिक तीर्थस्थल पाँचपोखरी जट्टापोखरी पुग्नको लागि वैकल्पिक मार्गहरु बनाउन सकिने जिरी वडा नम्बर १ का अध्यक्ष लाक्पा शेर्पा बताउछन् । उनका अनुसार पानीपाखा बाट छोटो बाटो निर्माण गरिएमा पोखरी सम्मको यात्रा निकै नै छिट्टो हुनेछ ।
दोलखाको जिरी नगरपालिका–१ र रामेछापको गोकुलगंगा गाउँपालिका–१ को सिमानामा रहेको प्रसिद्ध जट्टापोखरी, पाँचपोखरी जानको लागि वैकल्पिक मार्ग, केवलकारको निर्माण, सञ्चार, विद्युतको व्यवस्था लगायत पर्यटन पूर्वाधारको विकास गर्न जरुरी देखिन्छ ।
