युनिकोड    राशिफल       TashiTelevision                     

स्वर्गीय डोल्मा शेर्पा च्यावाको प्रथम वर्षको लोम्छ्यो कार्यक्रम काठमाण्डौको शेर्पा सेवा केन्द्रमा सम्पन्न भएको छ।

७५ वर्षको उमेरमा सन् २०२४ जुलाई १२ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सिटीमा असामयिक निधन भएकी स्वर्गीय च्यावाको  सन २०२५ को १२ जुलाई शनिबारको दिन लोम्छ्यो कार्यक्रम सम्पन्न गरिएको हो।

वार्षिक पुण्यतिथिमा आयोजना गरिएको लोम्छ्यो कार्यक्रममा ३५ जना लामाहरुको नेतृत्वमा पूजापाठ, दीप प्रज्वलन, वुद्धवचनको सूत्रपाठ तथा गणचक्र अर्पण गरिएको थियो। कार्यक्रममा ६ सय भन्दा बढी श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रार्थी स्वर्गीय च्यावाकी सन्तानहरु छोरा कर्मा शेर्पा तथा परिवार, छोरी ल्हमो छिरिङ शेर्पा तथा परिवार, छोरी येसी डोल्मा शेर्पा, छोरा डेनी शेर्पा तथा परिवार र  छोरी मिङमार याङचेन शेर्पा तथा परिवार रहेका थिए।

शेर्पा सेवा केन्द्रकी संरक्षक सदस्य समेत रहेकी डोल्मा शेर्पा च्यावाको निधन पश्चात, सन २०२४ को अगष्ट १० मा संयुक्त राज्य अमेरिका स्थित शेर्पा किदुगको गुम्बामा छेङा पूजा आयोजना गरिएको थियो।

स्वर्गीय डोल्मा शेर्पा च्यावा

शेर्पा समुदायमा लोम्छ्यो  अर्थात वार्षिक पुण्यतीथि मनाउने प्रचलन प्राचीन कालदेखि निरन्तर चल्दै आएको छ। दिवंगत व्यक्तिको सम्झनामा दीप प्रज्वलन, पूजापाठ, वुद्धवचनको सूत्रपाठ तथा गणचक्र अर्पण गरी यो धार्मिक विधि सम्पन्न गरिन्छ।

महायानी परम्परा अनुसार दिवंगत आत्माले निधनपछि उनन्चास दिनभित्र कुनै न कुनै जुनी लिइसकेको हुन्छ भन्ने विश्वास रहँदै आएको छ। तथापि, दिवंगतको नाममा प्रत्येक वर्ष लोम्छ्यो पूजा गर्ने परम्परा हाल सम्म प्रचलनमा रहेको देखिन्छ। यस मार्फत दिवंगत आत्माले जुनसुकै लोकमा जन्म लिए पनि सुखमय जीवन, दुःख–कष्टबाट मुक्ति र परमसुख प्राप्तिको कामना गरिन्छ।

उनिहरुको जुनी सुखमय होस, दुख कष्ट बाट मुक्त होस, दुर्गत्तिमा पतन नहोस र सुगत्तिमा जन्म लिएर सदा सर्वदा सुख शान्ति र समृद्धि भोग गर्दै परमसुखमा प्रतिष्ठित हुन सकुन भनि कामना गर्दै गरिने यस पूजा विधिलाई नै हिमाली क्षेत्रमा लोम्छ्योको नामले प्रख्यात भएको देखिन्छ।

गणचक्र अर्पणसहितको पूजामा इष्टदेव, डाकिनी, धर्मपाल तथा विभिन्न देवदेवीलाई फलफूल वा खाद्यपदार्थ चढाइन्छ, जसलाई छोक  भनिन्छ। गणचक्र पूजा सम्पन्न भएपछि ती खाद्यपदार्थलाई प्रसादमा परिणत गरिन्छ। यही अद्भुत विधि नै छोक पूजा  हो।

धार्मिक विश्वासअनुसार यस्तो प्रसाद सेवन गर्ने व्यक्तिको आयु लम्बिने, रोगव्याधि हट्ने, दुःख–कष्ट दुर हुने तथा मनोकामना पूरा हुने धार्मिक मान्यता रहेको छ।

शेर्पा समुदायको पूरानो परम्परा अनुसार स्वर्गीय डोल्मा शेर्पा च्यावाको लोम्छ्यो कार्यक्रम सम्पन्न गरिएको छ। स्थानीय रूपमा उपलब्ध फलफूल, फूल तथा सामग्री प्रयोग गरेर वातवरणमैत्री धार्मिक अनुष्ठान सम्पन्न गर्न सकिने उदाहरण यस कार्यकमले पस्तुत गरेको छ। फलफूललाई स–साना टुक्रा पारेर प्रसादका रूपमा वितरण गरिएको यस कार्यक्रमले धार्मिक अनुष्ठानलाई सहज र अर्थपूर्ण बनाउन सकिने सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।

कार्यक्रमले धार्मिक अनुष्ठानलाई मितव्ययी ढंगले सम्पन्न गर्न सकिने स्पष्ट सन्देश दिएको छ। जस्ले आगामी दिनमा यी र यस्ता धार्मिक अनुष्ठान आयोजना गर्न सर्वसाधरण जनतालाई सुलभ र सहज भएको छ।

यस कार्यक्रमले शेर्पा समुदायको प्रथा, परम्परा, चालचलन, रीतिरिवाज, भाषा, धर्म तथा संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर